इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, १२ : ४७
इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

काठमाडौं । इरानले इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरेको छ । धेरै मिसाइललाई इजरायलले आकाशमै निष्कृय पारे पनि केही मिसाइल भने इजरायली भूमिमा खसेका छन् । तर आक्रमणबाट इजरायलमा कति क्षति भयो भन्ने खुलेको छैन ।

इजरायली सेनाका अधिकारीहरुका अनुसार इरानको आक्रमण अहिले भने रोकिएको छ । इजरायलको विदेश मन्त्रालयले ट्वीट गरेर मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल आक्रमण गरेको जनाएको छ । इजरायलका अनुसार यो आक्रमण वेष्टब्यांक क्षेत्रमा भएको एक आक्रमणबाट सडकमा हिँडिरहेका एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको छ । इजरायलले यसको भिडियो नै सार्वजनिक गरेको छ ।

इजरायलमा यसै वर्ष इरानले गरेको यो दोस्रो आक्रमण हो । गत अप्रिलमा भएको पहिलो आक्रमणभन्दा यो आक्रमण ठूलो हो । बीबीसीका अनुसार गत अप्रिलमा इरानले इजरायलमा ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलले आक्रमण गरेको थियो ।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)ले जारी गरेको विज्ञप्ति अनुसार आफ्ना एक शीर्ष कमाण्डर मारिएको प्रतिरोध स्वरुप इजरायलमा आक्रमण गरिएको हो ।

इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो ।

इरानको आक्रमणको इजरायलका सहयोगी देशहरुले आलोचना गरेका छन् । फ्रान्स, जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडाका लगायत देशहरुले इरानको आलोचना गरेका छन् ।