बाढीपहिरो पीडितको राहत र पुनर्स्थापनामा एमालेको जोड

सदीय दलको बैठक

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, १५ : १०
बाढीपहिरो पीडितको राहत र पुनर्स्थापनामा एमालेको जोड

काठमाडौँ । नेकपा एमाले संसदीय दलले बाढिपहिरो र डुबान प्रभावितहरूको सहयोगमा जुट्न राजनीतिक दल तथा नागरिक समाजसहित सामाजिक संघसंस्थाहरुलाई आग्रह गरेको छ । मंगलबार बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको एमाले सचेतक सुनिता बरालले जानकारी दिइन् ।

‘बाढिपहिरो प्रभावितहरूलाई जतिसक्दो सहयोग गर्न सबैलाई अपिल गर्ने निर्णय गरेको छ’, बैठकपछि बरालले भनिन्, ‘विपदमा परेका नागरिकहरूलाई सबैले सक्दो सहयोग गरेर मल्हम पट्टि लगाउनुपर्छ भनेर अपिल गर्ने निर्णय गरेका हौँ ।

साथै बैठकले प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने निर्णय गरेको छ । त्यसबाहेक संघीय सांसदले पाउने १५ दिन बराबरको रकम पीडितलाई सहयोग गर्ने निर्णय गरेको पनि बरालको भनाइ छ ।

बैठकमा दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको उपस्थिति र आफूले राखेको धारणाबारे सामान्य जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस