इजरायलले बेरुतमा गरेको हमलामा एकै दिन ९५ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, १२ : २२
इजरायलले बेरुतमा गरेको हमलामा एकै दिन ९५ जनाको मृत्यु

बेरुत । आफ्नो सेनाले सोमबार राती लेबनानको दहियाहमा हिजबुल्लाहको हातहतियार बनाउने कयौँ स्थानमा ‘सटीक आक्रमण’ गरेको इजरायलले बताएको छ ।

बेरुतको दक्षिणी उपनगर दहियाहलाई हिजबुल्लाहको गढ मानिन्छ । ‘आक्रमण हुनुअघि सर्वसाधारणलाई हुने क्षतिको जोखिम कम गर्न धेरै कदम चालिएको थियो । यी क्षेत्रमा सर्वसाधारणका लागि चेतावनी जारी गरिएको थियो, जसमा सटीक हतियारहरू प्रयोग गरिएको थियो भने हवाई निगरानी गरिएको थियो,’ इजरायली सेनाले भनेको छ ।

सोमबार लेबनानमा इजरायलको पछिल्लो हवाई हमलामा करिब ९५ जनाको मृत्यु भएको र १७२ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूका अनुसार लेबनानमा विगत दुई हप्तामा १ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । लाखौँ विस्थापित भएका छन् ।

यस अघि लेबनानमा हवाई हमला तीव्र पारेको इजरायलले जमिनबाट पनि लक्षित आक्रमण सुरु गरेको छ ।