सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १६ भदौ २०८१, १२ : ३१
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ  । झापा, रुपन्देही र कैलालीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।झापाको बिर्तामोड नगरपालिका–५ हिकोला मोडस्थित सडकमा प्र.१–०२–००२ ख ००३५ नम्बरको बसले प्र.१–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इलाम माई नगरपालिका–४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको छ ।

शनिबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ कोठी पुलस्थित सडकमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।  लुम्बिनीबाट कपिलवस्तुतर्फ जाँदै गरेको साइकल अनियन्त्रित भई शनिबार राती दुर्घटना हुँदा साइकल चालकको मृत्यु भएको हो ।

परिचय नखुलेका करिब २५  वर्षीय पुरूषको मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

उता कैलालीको गोदावरी नगरपालिका–१ स्थित सडकमा भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । सो सडक छेउमा रोकी राखेको ना.४ ख ९६३ नम्बरको ट्रकमा से.५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने २९ वर्षीय कैलाश थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस