छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ११ भदौ २०८१, १३ : १२
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।मोरङको उर्लाबारी नगरपालिका-३ नयाँ मंगलबारेस्थित सडकमा को.१ क ७१० नम्बरको मिनी ट्रकको ठक्करबाट साइकलयात्री उर्लाबारी नगरपालिका-२ बस्ने ६० वर्षीय गोकुल भट्टराईको सोमबार साँझ मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

उता चितवनको भरतपुर महानगरपालिका-३ पुलचोकस्थित सडकमा रोकिराखेको मधेस प्रदेश ०३००१ ख ९४७३ नम्बरको ट्रकमा ना.५८ प ८५९४ नम्बरको मोटरसाइकल ठक्कर खाई गए राती दुर्घटना हुँदा मोटरसाइकल चालक चितवन रत्ननगर नगरपालिका-६ बस्ने २८ वर्षीय सरोज कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका-४ बलियास्थित सडकमा प्र-२-०३-००१ क २०२७ नम्बरको क्रेनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ४२ वर्षीय किरण प्रसाद शर्माको सोमबार राती मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लम्की अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहाको लहान नगरपालिका-१९ छरापट्टीस्थित सडकमा मधेस प्रदेश ०६-००१ प ०७७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री लक्ष्मीपुर पतारी गाउँपालिका-४ बस्ने रामभरोस साहकी छोरी ८ वर्षीया सन्तोषी कुमारी साहको सोमबार राती मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सप्तऋषी अस्पताल हुँदै न्यूरो अस्पताल विराटनगर मोरङमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस