सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, १२ : ३१
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । सिरहा, सप्तरी र बारा जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।सिरहा, लहान नगरपालिका-३ हुलाक कार्यालयस्थित सडकमा मधेस प्रदेश ०१-००१ ख  ०४४९ नम्बरको ट्रकले स. ८ प ९२२३ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनगढीमाई नगरपालिका-१० बस्ने ५१ वर्षीय उत्तम ढकालको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, शम्भुनाथ नगरपालिका-१० जमुवास्थित सडकमा स.२ प १७१८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पशुपति कान्त मण्डलको छोरा १८ वर्षीय ध्रुव मण्डलको सोमबार राति मृत्यु भएको छ  ।

आफ्नै घर अगाडी बसिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-४ औराहा चोकस्थित सडकमा बा.२० च ८७४२ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय विष्णु बहादुर खड्काको सोमबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको ईभरग्रिन तराई हस्पिटल सिमरा हुँदै बयोधा अस्पताल वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस