देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०८१, १२ : ४९
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका-६ नगरपालिका चोकमा ना.६५ प ६९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शिव नारायण श्रेष्ठको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी दाङको शान्तिनगर गाउँपालिका-१ हाँडिचारस्थित सडकमा तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा.१ ज ७७० नम्बरको जिप अनियन्त्रित भई पल्टिएर आइतबार बेलुकी दुर्घटना हुँदा जिपमा सवार सल्यान त्रिबेणी गाउँपालिका-३ टोट्के बस्ने ४६ वर्षीय यम बहादुर केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ६ जना मध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने २ जनालाई थप उपचारको लागि नर्सिङहोम नेपालगंज बाँके पठाइएको छ । साथै २ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता उदयपुरको चौदण्डीगढी नगरपालिका-८ बेसारास्थित सडकमा रोकी राखेको प्र.१-०२-००४ ह ४०८१ नम्बरको अटोमा खेल्ने क्रममा अटो सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा खोटाङ बाह्रपोखरी गाउँपालिका-५ बोयाटार बस्ने विश्वदिप राईकी छोरी १४ वर्षीया सारा राईको मृत्यु भएको छ । खोटाङबाट बेल्टार तर्फ जाँदै गरेको प्र १-०५-००१ ह ०२८५ नम्बरको अटो वर्षातको कारण सडक बिग्रिएर रोकिए पश्चात् अटोमा सवार सारा ओर्लिएर सोही स्थानमा रोकी राखेको प्र १-०२-००४ ह ४०८१ नम्बरको अटोमा खेल्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका-६ साहुमारास्थित सडकमा त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको यूप ५६ ए ९२१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अमचुर खोलामा खस्दा चालक भारत महाराजगञ्ज निशलल थाना वडवलिया बस्ने ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि जिल्ला सरकारी अस्पताल नवलपरासी पश्चिम पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस