छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०८१, १३ : ४२
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ सरस्वतीनगरस्थित सडकमा बागमती प्रदेश ०२-०२५ प ०६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मुगु घर भएका २८ वर्षीय मन्दीप मल्लको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै झापाको हल्दिवारी गाउँपालिका-५ सोडागान्धी चोकस्थित सडकमा मे.१ ज ३२६१ नम्बरको पिकअप गाडीले मे.९ प. ९६८५ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

उनीहरूको नाम, थर, वतन नखुलेको प्रहरीको भनाई छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ भूकम्प मापन केन्द्र नजिकै सडकमा भे.६ प. ३९१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-७ ईत्राम बस्ने ३० वर्षीय दीपेश केसीको रहेका छन् ।

बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका-७ गौँडामुनीस्थित सडकमा ग.१ त. ७२४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ३० मिटर तल खस्दा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरका सहचालक रामेछाप मन्थली नगरपालिका–१३ घर भएका ३९ वर्षीय तेज बहादुर पाण्डे रहेका छन् । बिहीबार बेलुकी भएको सो दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस