अत्तरिया (कैलाली) । गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ । सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए ।
उनका अनुसार सवारी दुर्घटनामा परी गम्भीर र सामान्य गरी पाँच सय ३६ जना घाइते भएका छन् । जम्मा तीन सय नौ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको उनले जानकारी दिए ।
उनका अनुसार दुई सय सात मोटरसाइकल, ५० जिपरकार, ४० ट्र्याक्टर, २४ बस, १७ टेम्पो, १९ ट्रकरट्याङ्कर, नौ टिप्पर, सात माइक्रो, तीन वटा डोजर र ३० अन्य सवारी साधन गरी चार सय छवटा सवारी साधन दुर्घटना भएका थिए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ । गत आवमा छ हजार छ सय २६ वटा जनचेतनामूलक कार्यक्रम गरेको तथा उक्त कार्यक्रमबाट तीन लाख ८९ हजार दुई सय ६६ जना लाभान्वित भएका छन् ।
गत आवमै ट्राफिक नियम उल्लङ्घन गर्ने ७३ हजार चार सय ७९ जना सवारी चालक कारबाहीमा परेको र उक्त कारबाहीबाट चार करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन भएको प्रवक्ता उप्रेतीले जानकारी दिए। “मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, तीव्र गति, चालकको लापरबाहीलगायत कारणले बढी दुर्घटना हुने गरेको पाइएको छ”, उनले भने, “अघिल्लो वर्षको तुलनामा नियम उल्लङ्घन गर्नेको सङ्ख्या घटेको छ । दुर्घटनाको सङ्ख्या भने घट्न सकेको छैन । ज्यान गुमाउनेको सङ्ख्या घटेको छ ।”
आर्थिक वर्ष २०७९/८० मा दुई सय ५५ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको थियो । सो आवमा सामान्य र गम्भीर गरी चार सय ७३ जना घाइते भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार छ सय ५५ सवारी चालक कारबाहीमा परेका थिए । उक्त कारबाहीबाट छ करोड ४३ लाख ७२ हजार राजस्व सङ्कलन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १६ साउन २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
बाँकेमा ट्याक्टर पल्टिँदा युवकको मृत्यु
करेन्ट लागेर १ जनाको मृत्यु
बाजुरामा जिपको ठक्करबाट महिलाको मृत्यु