रास्वपाले पार्टीको दोस्रो वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम गर्ने

सफल खबर संवाददाता

सोमबार, २८ जेठ २०८१, १२ : ०७
रास्वपाले पार्टीको दोस्रो वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपाले साताव्यापीे कार्यक्रम गर्ने भएको छ । १ असार देखि ७ सम्म केन्द्रदेखि वडा तहसम्म विभिन्न कार्यक्रम गर्ने रास्वपाले जनाएको छ ।

७ असारमा रास्वपा गठन भएको दुई वर्ष पुग्दैछ । उक्त दिन केन्द्रमा पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । राजनीतिक दलका नेता, प्रबुद्ध वर्गलगायतलाई आमन्त्रण गरिएको सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘पार्टीलाई सुझाव दिने वर्गलाई अलि बढी यसपटक समेट्दैछौं । पार्टीमा आबद्ध नभएर बाहिरबाट सल्लाह सुझाव दिनेहरुको बढी भन्दा बढी आमन्त्रण गर्नेछौं,’ सहमहामन्त्री बुर्लाकोटीले भने ।

पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले सञ्चार माध्यमका सम्पादकहरुलाई छुट्टै आमन्त्रण गर्ने भएको छ । सम्पादकसँग पार्टी नेतृत्वले छुट्टै चियापानसहितको छुट्टै कार्यक्रम बनाएको बुर्लाकोटीले जानकारी गराए ।

७ असारको बिहान वा अघिल्लो दिन सम्पादकसँग अनौपचारिक संवाद गरिने उनले जानकारी गराए । प्रदेश, जिल्ला, पालिका, वडा कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन केन्द्रले परिपत्र गरेको छ ।

१ असारमा देखि हालसालै निर्माण सम्पन्न र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाहरुको अनुगमन गर्ने कार्यक्रम बनाइएको छ । ५ असारमा रक्तदान कार्यक्रम, सार्वजनिक स्थलहरुको सरसफाइ, ६ गते वृक्षारोपण कार्यक्रम राखिएको छ ।

रक्तदान, सरसफाइ, वृक्षारोपण, मैत्रीपूर्ण खेलकुदजस्ता कार्यक्रम गर्दा सरकारी, गैरसरकारी, निजीक्षेत्र, क्लब, संघसंस्था समुदायसँग समेत सहकार्य गर्न केन्द्रले परिपत्र गरेको छ ।