जय ट्रफीमा साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट

सफल खबर संवाददाता

विहीबार, ०३ माघ २०८१, १५ : ४५
जय ट्रफीमा साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट

काठमाडौँ । जय ट्रफी एलिट कपमा त्रिभुवन आर्मी क्लबका बलर साहब अलाम प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गर्दै उनले सर्वाधिक ३३ विकेट लिएका थिए ।

त्रिभुवन आर्मी फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भए पनि साहबलाई सर्वोत्कृष्ट छनोट गरिएको हो । फाइनलका दुई इनिङमा साहबले १२ विकेट लिए पनि टिमलाई जिताउन सकेका थिएनन् ।

फाइनल खेलको प्लेयर अफ द म्याच भने सागर ढकाल छनोट भए । ढकालले पहिलो इनिङमा ५ र दोस्रो इनिङमा ६ विकेट लिँदै टिमलाई जिताएका थिए ।प्रतियोगितामा सर्वोत्कृष्ट ब्याटरको अवार्ड मधेस प्रदेशका मयन यादवलाई दिइएको छ । उनले सर्वाधिक २६८ रन बनाएका थिए । यद्यपि, मधेस प्रदेश समूह चरणबाटै आउट भएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट बलरको अवार्ड पनि साहबलाई नै मिलेको छ ।

प्रतियोगिताभरि अलराउन्ड प्रदर्शन गरेका पुलिस क्लबका कुशल भुर्तेलले भने कुनै पनि पुरस्कार पाएनन् । उनले प्रतियोगितामा दुई अर्धसतकसहित २४६ रन बनाए भने कुल १८ विकेट लिए । उनी सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुवै सुचीमा तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस