नेपालले बिहीबार लाओससँग विश्वकप छनोट खेल्दै

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०८०, १३ : ५३
नेपालले बिहीबार लाओससँग विश्वकप छनोट खेल्दै

काठमाडौँ । नेपालको राष्ट्रिय फुटबल टोलीले आगामी फिफा विश्वकप फुटबलका लागि बिहीबार लाओससँग प्रारम्भिक चरणको छनोट खेल खेल्दैछ । नेपाल र लाओसबिचको खेल बिहीबार साँझ ५ः३० बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा खेलिने छ । 

उक्त खेलबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरणकुमार लिम्बु (चेम्जोङ) सधैँभन्दा फरक तरिकाले प्रस्तुत भए । उनले अधिकांश समय नेपाली फुटबलका समर्थकलाई सम्बोधन गर्दै आफ्नो धारणा राखे । 

‘दशरथ रंगशाला मेरो लागि संसारकै सबैभन्दा उत्कृष्ट रंगशाला हो । विश्वको अन्य कुनै रंगशालासँग यसको तुलना हुन सक्दैन । म चाहन्छु, नेपालले खेल्ने हरेक खेल घरेलु रंगशालामै आयोजना होस् । तर, त्यो सम्भव छैन भन्ने कुरा पनि मैले बुझेको छु । दशरथ रंगशालामा खेल्दा मैले हजारौँ समर्थकको साथ पाउँछु । एउटा खेलाडीको मनोबल बढाउन समर्थकको निकै ठुलो भूमिका हुन्छ,’ उनले भने ।

उनले लाओसविरुद्ध बिहीबार हुने खेलमा पनि नेपाली खेलाडीको हौसला बढाउन बढीभन्दा बढी समर्थकलाई उपस्थित हुन आग्रह गरे । ‘सञ्चारकर्मी साथीहरूमार्फत म नेपाली फुटबललाई माया गर्ने समर्थकलाई भोलीको खेलमा हाम्रो हौसला बढाउन रंगशालामा आइदिन अनुरोध गर्छु । हाम्रो सबैभन्दा ठुलो शक्ति भनेकै तपाईँहरू नै हुनुहुन्छ । हामी खेलाडी चाहन्छौँ, भोलीको खेलमा रंगशालामा समर्थकको ओइरो लागोस्,’ समर्थककै विषयमा बोल्न अधिकांश समय खर्चिएका नेपाली टोलीका कप्तानले भने । 

उनले लाओसविरुद्धको खेलमा राष्ट्रिय गान बज्दा सबै समर्थकलाई खेलाडीसँगै राष्ट्रिय गान गाउन पनि आग्रह गरे । उनले भने, ‘खेलअघि हामी सँगै मिलेर राष्ट्रिय गान गाऔँ । खेलको अन्तिम समयसम्म पनि रातो र चन्द्र सूर्यको धुनमा रंगशाला गुन्जिरहोस् । रंगशालामा घन्कने समर्थकहरूको आवाज नै हामी खेलाडीको ऊर्जाको स्रोत हो । ’ 

उनले लाओसविरुद्ध मैदानमा ओर्लन आफ्नो टोली तयार रहेको पनि बताए । ‘विश्वकप छनोट खेलका लागि हामीले गतिलो तयारी गरेका छौँ । टोलीमा राम्रो तालमेल छ । प्रशिक्षक र खेलाडीबिचको तालमेल पनि गतिलो छ,’ उनले भने, ‘तर, हाम्रो प्रतिद्वन्द्वी पनि कमजोर भने छैन । उनीहरू पनि विश्वकप छनोटमा हामीलाई हराउँदै अगाडि बढ्न चाहन्छन् ।’ 

नेपाली टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पनि आफ्नो टोली लाओसलाई चुनौती दिन तयार रहेको बताए । ‘यो मेरो पहिलो विश्वकप छनोट खेल हो । त्यसैले यो हामी सबैका लागि निकै ठुलो प्रतियोगिता हो । लाओसविरुद्धको खेलका लागि हामी तयार छौँ । हाम्रा प्रतिद्वन्द्वी पनि कमजोर छैनन् । लाओसविरुद्धको खेलका लागि कस्तो तयारी गरेका छौँ भन्ने कुराको जवाफ हाम्रा खेलाडीले भोली मैदानमा दिनेछन्,’ उनले भने ।

लाओसविरुद्धको खेलका लागि घोषित नेपाली टोलीमा किरणकुमार लिम्बु, दीपक कार्की, अभिषेक बराल, सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिषरत्न छुन्जु, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, गिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन् । नेपाल र लाओसबिचको दोस्रो लेग खेल भने लाओसको घरेलु मैदानमा खेलिने छ । त्यसपछि उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्र विश्वकप छनोटको अघिल्लो चरणमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस