काठमाडौ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज शनिवार पनि बस्दैछ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।
बैठक शनिवार बिहान ११ बजे पुनः बस्नेछ । बुधवारदेखि शुरू भएको बैठकमा शुक्रवारसम्म १४२ जनाले अध्यक्षको प्रस्तावमाथि धारणा राखेका छन् । बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यलाई ५ मिनेटको समय प्रदान गरिएको छ ।
बैठकमा ३८७ पूर्ण र १९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।
माओवादीले मातहतका समितिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार केन्द्रीय समितिमा महिला सदस्य थप गरेको छ । माओवादीले जारी केन्द्रीय समिति बैठकबाट २४ जना महिलालाई केन्द्रीय समितिमा ल्याएको छ ।
आङ्दावा शेपा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गङ्गा खड्का, गीताकुमारी कँडेल चौलागार्इं, गीता शाही, छमकुमारी खनाल, दिलमाया बुढामगर, निरमाया श्रीस, निशा न्यौपाने, पार्वती थापा, भगवती चौधरी, मोतिकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरीलगायत केन्द्रीय समितिमा थपिएका छन् ।
महिलाको संख्या थपिएसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय पुगेको छ । विधानमा भएको व्यवस्थाअनुसार पार्टी कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्याउने गरी महिला केन्द्रीय सदस्य मात्र थप गरिएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । माओवादीमा २०४ वैकल्पिक केन्द्रीय सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, ०६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै
माओवादी संसदीय दलको बैठक आज बस्दै
माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा
चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा