क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

सफल खबर संवाददाता

बुधबार, २३ माघ २०८१, ११ : ३९
क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् । बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने उनले सुनाए । नेपालमा क्यान्सरबाट हुने मृत्युदर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यसको निर्मुलीकरणमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । 

तथ्यांकअनुसार नेपालमा दैनिक ६ महिलाको मृत्यु हुन्छ । त्यसमध्ये ४ जनाको पाठेघरको क्यान्सरबाट मृत्यु हुन्छ । ‘यो सामान्य तथ्याङ्क होइन । क्यान्सर खानपान, वातावरण जस्ता कारणले बढेको छ,’ उनले भने, ‘यो रोगको नियन्त्रण गर्ने र निर्मूल गर्ने उद्देश्य छ ।’ 

पौडेलले नेपालको भविष्यलाई पाठेघरको क्यान्सरबाट बचाउन खोप अभियान थालिएको बताए । ‘भविष्य यो खोपले बचाउँछ । खोपबाट मात्र पूरा क्यान्सर नियन्त्रण हुँदैन,’ अघि थपे, ‘१४ वर्ष माथिका महिलाहरूको क्यान्सरको स्क्रिनिङ गर्ने र उपचार अभियान सरकारले चलाउँछ ।’ उनले केही हप्तामा क्यान्सर रोगीलाई दिने किमो निःशुल्क बनाउने घोषणा गरे । 

नेपालमा उपचारमा मात्र रकम खर्च भएको भन्दै निरोधात्मक अभियान पनि सरकारले चलाउने सुनाए । ‘निरोधात्मक र रक्षात्मक काम गर्न सकिएको छैन । उपचारमा मात्र काम गरेका छौं । अब सरकारले उपचारसँगै बिरामी हुन नदिने क्षेत्रमा काम गर्छ,’ उनले भने । मन्त्री पौडेलले समाजवाद स्वास्थ्यबाट मात्रै आउने भन्दै स्वास्थ्य क्षेत्र बढी सुधार्नुपर्ने बताएका छन् । 

पोखरामा २३ हजारभन्दा बढी किशोरीलाई खोप लगाउने योजना छ । मेयर धनराज आचार्यले मङ्गलवारदेखि नै पोखरामा सुरु भए पनि बुधवार स्वास्थ्यमन्त्रीको उपस्थितिमा शीतलादेवी स्कुलबाट खोप लगाउन थालिएको जानकारी दिए । यसका लागि नगरका २७५ स्कुलमा खोप केन्द्र चलाइएको छ । ६ देखि १० कक्षासम्मका किशोरीलाई खोप लगाउने र स्कुल नपढ्ने १० देखि १४ वर्षका किशोरीलाई पनि खोपको व्यवस्था गरिएको मेयर आचार्यले जानकारी दिए । 

स्वास्थ्य नीति महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेलले पोखराभर ३९ हजारभन्दा बढी किशोरीलाई खोप देशभर १६ लाख ८८ हजारलाई खोप लगाउन लागिएको जानकारी दिए । गण्डकीमा १ लाख ५ हजारलाई खोप लगाउने तयारी छ । ‘९० प्रतिशत भन्दा बढीले खोप लगाउने अनुमान छ । सरकारले राष्ट्रिय क्यान्सर उपचार रणनीति तयार पनि गरेको छ,’ उनी भन्छन्, ‘सरकारबाट रोग उपचार भन्दा रोग बचावट कार्यक्रममा बढी जोड भइरहेको छ । अब रोगीको उपचार गर्ने मात्र होइन, रोग लाग्नै नदिने हो ।’ यद्यपि निधानात्मक अभियान उपचारभन्दा ज्यादै महँगो हुने उनले बताए । 

वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले उपचार बेलैमा गर्दा मात्र फाइदा हुने बताए । ‘सरकारले रोग नै नलागोस् भनेर काम गरेको छ,’ उनले भने, ‘उपचार पनि बेलैमा गरे मात्र फाइदा हुन्छ । सचेत हामी आफै हुने हो ।’

 

प्रतिक्रिया दिनुहोस