भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले आज भक्तपुर अस्पतालको अवलोकन गरेकी छन् । उनले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड)को अवलोकन गरेकी हुन् ।
अवलोकनका क्रममा अधिराजकुमारी सोफीयाले प्रसूति सेवाबारे विस्तृत रूपमा जानकारी लिएकी थिइन् । उनले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था र उपचार विधिका बारेमा जानकारी लिएकी थिइन् ।
प्रसूति कक्षमा भर्ना भएका नवजात शिशुलाई बोकेर उनले अस्पतालले दिएको सेवा प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गरिन् । यौन दुर्व्यवहार र हिंसामा परेका महिलाका बारेमा चासो लिँदै उनले हिंसा पीडित महिलाको व्यवस्थापन, पारिवारिक मिलन, सामाजिक पुनःस्थापनालगायत पक्षका बारेमा छलफल गरेकी थिइन् ।
अधिराजकुमारी सोफीयाले बिना पारिश्रमिक महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याइरहेको योगदानको प्रशंसा गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा अस्पतालले दिँदै आएको सेवा र योगदानप्रति खुसी व्यक्त गरिन् ।
प्रसूति सेवामा भएको विकास र अस्पतालले प्रयोगमा ल्याएको आधुनिक प्रविधि र उपकरणका बारेमा जिज्ञासा राख्नुका साथै अधिराजकुमारी सोफीयाले बेलायत सरकारको सहयोगमा निर्माण भएको नयाँ भवन र स्तरोन्नति ‘रेक्टोफिटिङ्ग’ गरिएको भवनको समेत अवलोकन गरिन् ।
अवलोकनपछि छलफलका क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका १३ वटै अस्पतालमा प्रसूति कक्षलाई आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचनाका लागि काम भइरहेको बताए ।
मन्त्रालयका स्वस्थ्य सचिव डा सुमित्रा गौतमले भक्तपुर अस्पताल मुलुकको नमुना अस्पताल बनाउन सफल भएको उल्लेख गर्दै प्रदेशका सबै अस्पतालको विकासमा मन्त्रालय योजनाबद्ध रूपमा लागिरहेको बताइन् ।
अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले भक्तपुर अस्पतालले भक्तपुरका मात्रै नभई पूर्वदेखिका बिरामीलाई सवा दिइरहेको बताउँदै एमआरआई, सिटी स्क्यान, डायलोसिस मेशिन सञ्चालनमा ल्याउन पाए बिरामीले धेरै राहत पाउने बताए ।
अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले सोफीयालाई अस्पतालले प्रजनन् स्वास्थ्यमा पुर्याउँदै आएको सेवा र अवस्थाका बारेमा जानकारी दिए । उनले यौन तथा लैङ्गिक हिंसामा परेका महिलाको स्वास्थ्य परीक्षण र उपचार गरी सुरक्षित घर (सेभहाउस) मा पठाउने, मनोपरामर्श दिने, परिवार र समाजमा पुनःस्थापना गराउनेलगायत कार्य गर्दै आएको बताए ।
अधिराजकुमारी सोफीयले भक्तपुर अस्पतालको सेवाका बारेमा जानकारी लिँदै बिरामीसँग कुराकानी गरिन् । सोफीयासँगै बेलायत राजदूतावासका स्वास्थ्य सल्लाहकार डिएगो मोरोसो, दूतावासका समन्वयकर्ता दीपक कार्कीलगायत टोलीले अस्पतालको अवलोकन गरेको अस्पताल स्रोतले जनाएको छ ।
मङ्गलबार नेपाल आएकी अधिराजकुमारी सोफीय काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २३ माघ २०८१, १६ : २९
लेखकबाट थप