नवलपरासी । मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचनमा नवलपुरमा दुई हजार चार सय बढी कर्मचारी खटिने भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए।
निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ जना कर्मचारी परिचालन हुने उनले बताए। जिल्लामा एक सय १३ मतदानस्थल र तीन सय दुई मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी परिचालन गरिने छ ।
दुई सय ५० सम्म मतदाता भएका केन्द्रमा छ जना र त्यसभन्दा धेरै मतदाता भएमा आठ जना कर्मचारी खटाउने योजनाअनुसार जिल्लाभर दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिने निर्वाचन कार्यालय प्रमुख भुसालले बताए । नवलपुरमा दुई सय ५० भन्दा कम मतदाता भएको मतदान केन्द्र नरहेको उनले बताए। दुई सय ५१ भन्दा धेरै मतदाता भएको केन्द्रमा आठ जना कर्मचारी परिचालन गरिने र आवश्यक परे मतदान अधिकृतले स्वयंसेवक खटाउन सक्ने उनले बताए ।
निर्वाचनमा परिचालन गरिने कर्मचारी जिल्लाका सरकारी कार्यालय, शिक्षकलगायतबाट पूरा गरिने उनले जिल्ला निर्वाचन कार्यालय प्रमुख भुसालले बताए। यसबाहेक नवलपुरमा दुईवटासम्म अस्थायी मतदान केन्द्र हुने कार्यालय प्रमुख भुसालले बताए । जिल्लामा रहेका सुरक्षाकर्मी, कर्मचारीका लागि बढीमा दुईवटासम्म अस्थायी मतदान केन्द्र निर्माणका विषयमा छलफल भइरहेको तर अझै टुङ्गो भने नलागेको उनको भनाइ छ । अस्थायी मतदान केन्द्रबाट सङ्घीय समानुपातिकतर्फमात्रै मतदान गर्न सकिने छ ।
जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षासमेत सञ्चालनको तयारी गरेको छ । जिल्लामा रहेका सबै पालिकामा पालिकास्तरबाट निर्वाचन शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरिएको उनको भनाइ छ । “मत बदर नहोस् भनेर हरेक पालिकास्तरमा मतदाता शिक्षा सञ्चालनको तयारी छ, सम्भवत यसपटक पालिकालाई नै मतदाता शिक्षा सञ्चालनको जिम्मेवारी प्रदान गरिने छ”, कार्यालय प्रमुख भुसालले भने । कात्तिक २ गतेपछि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ ।
दुई सङ्घीय निर्वाचन र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल मतदाता दुई लाख ६० हजार चार सय ६२ छन् । जसमा पुरुष एक लाख २४ हजार तीन सय ३६ र महिला मतदाताको सङ्ख्या एक लाख ३६ हजार एक सय २१ छन् । सङ्घीय निर्वाचन क्षेत्र नं १ मा कुल मतदाता एक लाख ३१ हजार एक सय ८१ छन् । क्षेत्र नं २ मा एक लाख २९ हजार दुई सय ८० मतदाता छन् । प्रदेशसभातर्फ १ क मा ६३ हजार पाँच सय ३५, १ ख मा ६७ हजार छ सय ४६, २ क मा ६४ हजार पाँच सय १८ र २ ख मा ६४ हजार सात सय ६२ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ असोज २०७९, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
राष्ट्र बैंकमा २८ जनालाई जागिरको अवसर (सूचनासहित)
सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित
कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा
संघ, प्रदेश र स्थानीय तहमा कति छन् कर्मचारी ?
६३५ निजामती कर्मचारीले छोडे जागिर