सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित

सफल खबर संवाददाता

शुक्रबार, ०७ भदौ २०८१, १५ : १३
सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित

काठमाडौँ । सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवन बीमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलन भएका छन्।

शुक्रबार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले जीवन बीमाको माग गर्दै आन्दोलन गरेको हो । उनीहरुले सरकारले आफ्ना मागहरू पूरा नगरे आन्दोलनलाई अझै बढाउँदै जाने बताए ।

संघर्ष समितिका उपाध्यक्ष जितेन्द्रकुमार मिश्राले सवारी साधनको इन्स्योरेन्स भएझैँ सरकारी सवारी साधन चलाउने ड्राइभरको पनि हुनुपर्ने आफूहरूको माग रहेको बताए । आफूहरूलाई महँगी भत्ता, सामाजिक सुरक्षा कोषमा आबद्ध गरिदिनुपर्ने पनि माग अघि सारेका छन् ।

संघर्ष समितिका अध्यक्ष श्याम सापकोटालाई नियमित काममा फर्काउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको बताए । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले भारी सवारी चालक सापकोटालाई मानसिक तनाव दिई जागिरबाट निस्किने अनुचित वातावरण बनाइएको भन्दै सिंहदरबारमै अनसन बसेको बताए ।

उनीहरुले सरकारको विभिन्न निकायहरूमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको समस्याहरू समाधान गर्दै न्यायोचित व्यवस्थापन गर्न माग गरेको बताए। लामो समयदेखि कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूलाई मानसिक तनाव बढाउने र रोजगारीबाट हटाई आफ्नो नजिकका व्यक्तिहरूलाई राख्ने उद्देश्यले हटाइएको उनीहरूको आरोप छ ।  

प्रतिक्रिया दिनुहोस