कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता

सफल खबर संवाददाता

बुधबार, ०९ माघ २०८१, १५ : २१
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदूत डा.शङ्कर शर्माबिच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका सभापति बानियाँ र राजदूत डा.शर्माबिच भारतीय राजदूतावासमा बुधवार बिहान भेटवार्ता भएको हो ।

भेटमा सभापति बानियाँ र राजदूत डा.शर्माबिच भारतमा रहेका नेपालीहरूको विभिन्न समस्या र समाधानका विषयमा छलफल भएको जनाइएको छ ।

भारतमा बसेर व्यवसाय गरिरहेका व्यवसायीहरूको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि आउँदा ब्योहोर्नु परेका समस्या समाधानका बारेमा नेता बानियाँ र राजदूत डा.शर्माबिच छलफल भएको सभापति बानियाँको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार पूर्व गृह राज्यमन्त्रीसमेत रहेका बानियाँले भारतमा कार्यरत नेपाली मजदुर, विभिन्न व्यवसाय गरी बसेका व्यवसायीहरूको उपचार, दुर्घटनामा परी घाइते तथा मृत्यु भएका परिवारले व्यहोर्नुपर्ने झन्झटिलो प्रक्रियाको छिटो समाधानका उपाय र नेपालीहरूको स्वास्थ्य बिमाको प्रक्रिया बारेमा राजदूत शर्मासँग छलफल गरेका थिए ।

भारतका लागि नेपाली राजदूत डा.शर्माले दुई देशबिच गहिरो मित्रता रहेकाले भारत सरकारबाट नेपालीहरूको स्वास्थ्य उपचारमा आवश्यक सहयोग पाइरहेको र केही समस्या परेमा राजदूतावासमा सम्पर्क गर्नसमेत छलफलमा आग्रह गरे ।

नेपाली व्यवसायीहरूको विभिन्न समस्या समाधानका लागि भारत सरकारसँग आवश्यक समन्वय गर्ने उनले बताए ।राजदूतावासमा भएको छलफलमा नेता बानियाँसहित कांग्रेस बागमती प्रदेश कानून तथा संसदीय मामिला विभाग प्रमुख सानुकान्छा श्रेष्ठ, राजदूतावासका सहसचिव सुरेन्द्र थापा, श्यामराज पाण्डे, अर्जुन धरेल तथा व्यवसायीहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस