काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।आर्थिक वर्ष सकिएको एक साताभित्र अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार २० वटै वाणिज्य बैंकले सोमबार विवरण सार्वजनिक गरेका हुन् ।
साउनदेखि पुस मसान्त (६ महिना) सम्ममा २० वाणिज्य बैंकले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा बैंकहरूको नाफा ४.६२ प्रतिशत घटेको छ । गत आव सोही अवधिमा २० बैंकको खुद नाफा २८ अर्ब ७६ करोड ५२ लाख थियो ।
११ बैंकको नाफा बढ्यो, प्रभुको अब्बल प्रदर्शन
समीक्षा अवधिमा ११ बैंकको नाफा बढेको छ । वृद्धिदरका आधारमा प्रभु बैंक अब्बल देखिएको छ । बैंकको नाफा समीक्षा अवधिमा ८५ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी बढ्नु र लोन लस प्रोभिजन घट्दा बैंकको नाफामा सकारात्मक प्रभाव देखिएको छ ।
प्रभुपछि नाफा धेरै बढाउन सफल भएका बैंकमा एनआईएमबी, ग्लोबल आईएमई, एनएमबी क्रमशः छन् ।
तर, ठिक विपरीत एनआईसी एसियाको लोन लस प्रोभिजन भारी दरमा बढेको छ । यही कारण उसको नाफा पनि सबैभन्दा धेरै ९२ प्रतिशत घटेको छ । एनआईसी एसियापछि नाफा उच्च दरले घट्ने बैंकमा कुमारी, राष्ट्रिय वाणिज्य र सिद्धार्थ छन् ।
किन घट्यो बैंकहरूको नाफा ?
वित्तीय विवरणले बैंकहरूको नाफा घट्नुका पछाडि मुख्यतः दुई कारण देखाएको छ । पहिलो– बैंकहरूको खुद ब्याज आम्दानी नै घट्नु । चालु आव पहिलो ६ महिनामा २० बैंकले ९२ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । जबकि, गत आव यसै अवधिमा खुद ब्याज आम्दानी ९६ अर्ब २९ करोड थियो ।
बैंकको मुख्य व्यापार भनेको निक्षेपकर्ताबाट लिएको रकम कर्जामार्फत परिचालन गर्नु हो । यतिबेला पर्याप्त कर्जा जान नसक्दा निक्षेपको लागत बढेको छ । कर्जा पर्याप्त जान नसकेको तथ्य हालको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.४ प्रतिशतमा झर्नुले नै पुष्टि गर्छ ।
राष्ट्र बैंकले विभिन्न उपकरण मार्फत बैंकहरूको तरलता खिच्दै आएको छ । यसले बैंकको खुद ब्याज आम्दानीमा असर पार्दै लगेको छ ।यसबाहेक बैंकहरूले कर्जाको साँवा, ब्याज असुल गर्न सकेका छैनन् । यसले गर्दा लोन लस प्रोभिजन बढेको छ । समयमै कर्जा असुली नहुँदा त्यसले प्रोभिजन रकम र निष्क्रिय कर्जा बढाएको छ ।
बैंकमा धितो राखिएका सम्पत्ति बिक्री गरेर बैंकहरूले लामो समयसम्म नउठेको कर्जा असुली गर्न सक्छन् । तर, हाल बैंकमा राखिएका सम्पत्ति पनि बिक्री नभएको अवस्था छ । ‘व्यवसायमा देखिएको शिथिलताले सावाँ ब्याज नउठ्ने, धितो राखिएको सम्पत्ति पनि बिक्री नहुने समस्याले प्रोभिजन रकम बढ्यो,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘यसले नाफामा पनि असर पार्यो ।’
यो पुस मसान्तसम्म वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा बढेर ४.३५ प्रतिशत पुगेको छ । जबकि, गत पुस मसान्तसम्म यस्तो कर्जा ३.३८ प्रतिशत थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा आन्दोलन
११ वटा बैंकले गरे ब्याजदर समायोजन
विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई धम्की
सावधान ! बैंकको कर्मचारी भन्दै फोन आउला
नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन