काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हाल छिमेकी, क्षेत्रीय सङ्गठन, बहुपक्षीय सङ्गठन र श्रम गन्तव्यका विषयमा आफ्नो परराष्ट्र नीति केन्द्रित भएको बताउनुभएको छ ।
केही सञ्चारमाध्यमका सम्पादकहरुसँग आज अपराह्न भएको भेटघाटमा उहाँले वैदेशिक सम्बन्धको आधार भने सार्वभौमिक समानता, अहस्तक्षेप, आपसी सम्मान र पारस्परिक लाभ नै भएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “अब उपरान्त आन्तरिक राजनीतिक मामिला द्विपक्षीय छलफलको विषय बन्दैन ।” उहाँले प्रकृति र संस्कृति नेपालको पर्यटनका मूल क्षेत्र भए पनि नेपालको मौलिक शान्ति प्रक्रियालाई पनि प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।
परराष्ट्रमन्त्रीले चीन र भारतसँग हाम्रो कुल गार्हस्थ उत्पादनको एक तिहाइ घाटा हुनु डरलाग्दो सङ्केत भएकाले अब सन्तुलनमा ल्याउने प्रयास हुने बताउनुभयो । भारतसँगको सम्बन्ध विगतमा उतारचढाव भए पनि सन्तुलनमा ल्याउने प्रयास भइसकेको र भारतले पनि आफ्नातर्फबाट महसूस गरेको बताउँदै उहाँले भारतसँग भएका विभिन्न सम्झौता कार्यान्वयन गर्न नेपालको राष्ट्रिय दिवस अर्थात् संविधान दिवस(असोज ३ गते)को समय तोकिएकामा त्यसमा प्रगति देखिएको जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली जुन महीनाको दोस्रो सप्ताहतिर छिमेकी देश चीन जाने जानकारी दिँदै सो अवसरमा क्रसबोर्डर ट्रान्समिसन लाइन, व्यापार र परिवहन, उड्डयन, पाइपलाइन, टोखा–छहरे सुरुङमार्ग तथा
बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका केही आयोजनाबारे ठोस काम हुने बताउनुभयो ।
उहाँले सार्क शिखर सम्मेलनको मिति लम्बिएकामा चिन्ता व्यक्त गर्दै नेपाल सार्कको विकल्प खोज्ने पक्षमा नभएको स्पष्ट गर्नुभयो । बिम्स्टेकको सम्मेलन यसै वर्षभित्र गर्ने योजना रहेको तथा नेपाल साङ्घाइ सहयोग सङ्गठनको संवाद साझेदारबाट पर्यवेक्षक बन्ने प्रक्रियामा रहेको जानकारी पनि उहाँले दिनुभयो । विश्व प्रणालीमा परिवर्तन हुनुपर्ने तथा संयुक्त राष्ट्र सङ्घमा साना राष्ट्रको पनि समयोचित प्रतिनिधित्व हुने गरी सुधार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपालका विकास साझेदारहरुलाई नेपालमा सहयोग अनियन्त्रित ढङ्गले नछरी लगानी र सहयोग बढाउन आग्रह गरिएको जानकारी पनि दिनुभयो ।
परराष्ट्रमन्त्रीले नेपालले धेरै देशसँग श्रम सम्झौता गर्न चाहेको र सम्झौता भएका मुलुकमा नेपाली श्रमिकको हकहित र कमाएको पैसा सजिलै नेपाल पठाउने वातावरण बनाउन प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले कूटनीतिक आचारसंहिता र राजदूत नियुक्तिको मापदण्ड तयार गर्ने काम र नेपालका राजदूतावास तथा नियोगहरुको स्थितिबारे समीक्षा भइरहेको एवं नेपाली राजदूतहरुको कार्यसम्पादन पनि मूल्याङ्कन भइरहेको बताउनुभयो ।
पत्रकारको जिज्ञासामा परराष्ट्रमन्त्रीले नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको कामप्रति सन्तोष व्यक्त गर्दै यही हिसाबले काम अघि बढेमा नेपाल भारत सम्बन्धमा युगान्तकारी घटना हुने विश्वास व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो,“विगतमा सत्ता टिकाउन वा प्राप्त गर्न भएका जमानीको स्वामित्व लिँदैनौँ, दलगत स्वार्थमा भएका कुराको जवाफदेही हुँदैनौँ ।”
प्रतिक्रिया दिनुहोस