बजेटको पक्ष र विपक्षमा छलफल, कस्ले के भने ?

आइतबार, २० जेठ २०७५, १५ : ०५
बजेटको पक्ष र विपक्षमा छलफल, कस्ले के भने ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदहरुले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी, व्यावहारिक र वस्तुपरक रहेको बताउनुभएको छ । विपक्षी दलका सांसदहरुले भने बजेट यथार्थपरक नभएको भन्दै आलोचना गर्नुभयो । आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सत्तापक्षका सांसदहरुले बजेट वस्तुपरक रहेको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

सांसद प्रभु शाहले आगामी आवका लागि प्रस्तुत बजेट वस्तुपरक र यथार्थमा आधारित भएको र बजेटले लिएको लक्ष्य उपयुक्त भएकाले कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले शहीद परिवारको जीवनयापन सहज बनाउनका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद भानुभक्त ढकालले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको बजेट हालसम्मकै प्रभावकारी रहेको भन्दै विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत रहेको बताउनुभयो ।

विगतमा राज्यकोषको चरम दुरुपयोग गरिएको र देखाउनका लागिमात्रै केही कार्यक्रम ल्याइएको भन्दै उहाँले वर्तमान सरकारले यथार्थवादी बजेट प्रस्तुत गरेको दाबी गर्नुभयो ।

सांसद राजकिशोर यादवले सरकारले ल्याएको बजेटमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा विज्ञापनमा भनिएजस्तै ‘हात्ती र हात्ती छाप चप्पल’ जस्तो भएको बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र संघबीचमा बजेटले तालमेल नगरेको भन्दै बजेट संघीताको मर्म भन्दा बाहिर रहेको आरोप लगाउनुभयो
सांसद उमाशंकर अरगरीयाले बजेट वितरण प्रक्रिया व्यवहारिक र वस्तुपरक नभएको, हचुवाको आधारमा मात्रै विनियोजन गरिएको बताउनुभयो ।

सांसद राजेन्द्र लिङदेनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा व्यक्त भएका प्रतिवद्धताबाट वर्तमान सरकार पर हटेर बजेट निर्माण गरेको भन्दै यस्तो प्रक्रियाबाट आर्थिक समृद्धि प्राप्त गर्न नसकिने टिप्पणी गर्नुभयो ।

सांसद सुजाता कोइरालाले शान्ति प्रक्रिया अझैसम्म नटुङ्गिएकाले सहमति, सहकार्य र एकता अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेपाली काँग्रेसलाई एक्ल्याएर जाने कार्यले राम्रो नगर्ने बताउनुभयो ।

आगामी आवका लागि प्रस्तुत बजेटमा नेपाली काँग्रेसले जितेको स्थानीय निकायमा पक्षपात गरेर बजेट विनियोजन भएको भन्दै उहाँले त्यसलाई सच्याउन आग्रह गर्नुभयो । सांसद कोइरालले पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई बजेटले भूलेकाले त्यसतर्फ ध्यान दिन माग गर्नुभयो ।

सांसद रामेश्वरराय यादवले बजेटमा देखाएको समृद्ध नेपाल, सुखी नेपालीको सपना अत्यन्त महत्वपूर्ण भएको भन्दै प्रतिपक्षलाई साथमा लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद एकवाल मियाँले बजेटले माथिबाट तल्लोस्तरमा कार्यक्रम लगेकाले प्रभावकारी नहुने भन्दै स्थानीय तहदेखि केन्द्रसम्म हुने गरी बजेट बिनियोजन हुनुपर्ने बताउनुभयो । उहाँले बजेट असन्तुलित भएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद सरिता गिरीले आर्थिक नीति तथा लक्ष्य प्राप्तिका हिसाबले बजेटमाथि शंका रहेको भन्दै केन्द्रिकृत राज्य व्यवस्थाको चरम विन्दुमा रहेको बजेट सामाजिक न्यायका विरुद्ध पनि भएको बताउनुभयो ।
सांसद बिन्दा पाण्डेले सरकारले बजेटमार्फत आर्थिक वृद्धिदर आठ प्रतिशत पु¥याउने, आगामी आव भित्र पाँच लाखजनालाई नयाँ रोजगारी सिर्जना गर्ने, सिपयुक्त जनशक्तिको व्यवस्था गर्ने, निर्यातजन्य उद्योगको विकास गर्नेजस्ता विषय सकारात्मक र प्रभावकारी रहेको धारणा व्यक्त गर्नुभयो ।
सांसद डा नारायण खड्काले आठ प्रतिशत आर्थिक वृद्धिदरको आधार के हो भन्ने प्रश्न गर्दै बजेट ‘फोकस लेन्स’ भएको आरोप लगाउनुभयो ।

सांसद हितबहादुर तामाङले विगतमा उदारिकरणको नाममा उद्योग धन्दा बिक्री गरेर आर्थिक समृद्धि हुन्छ भन्नेहरुले वर्तमान सरकारले ल्याएको बजेटको विरोध गरेको भन्दै सारभूतरुपमा बजेटले समाजवादको आधार तयार पार्नेमा जोड दिनुभयो ।
सांसद पुष्पाकुमारीकर्ण कायस्थले बजेटले सबै क्षत्रेलाई उत्तिकै महत्व दिएको भन्दै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद प्रकाशमान सिंहले दुई तिहाई मत प्राप्त वर्तमान सरकारले बजेटमा ‘निराशाको पोको’ मात्रै ल्याएको आरोप लगाउनुभयो । खुला अर्थनीति अंगालेको मुलुकमा निजी क्षेत्रलाई नियन्त्रण गर्न खोजिएको भन्दै उहाँले सरकारको व्यवहार प्रजातान्त्रिक मूल्य र मान्यता विपरित छ भन्नुभयो । 

 सांसद गगन थापाले कतिपय सांसद र अर्थशास्त्रीहरुले बजेट सन्तुलित भएको प्रतिकृया दिएपनि बजेटले चार ‘स’ लाई सम्बोधन गर्न नसकेको बताएका छन् ।

संसदमा जारी बजेटमाथि छलफलका क्रममा सांसद थापाले चार ‘स’ अर्थात संघीयता, संविधान कार्यन्यन, संघीय वित्त व्यवस्थापन र सम्बृद्धिको सवालमा बजेट चुकेको बताए ।

उनले बहुमतको सरकारले ल्याउने बजेट १० बर्षको मार्गदर्शन गर्छ कि भन्ने अपेक्षा भएपनि बजेटले त्यो अपेक्षा पूरा गर्न नसकेको धारणा राखे । उनले सरकार एक बर्षे परीक्षणकालमा रहेको र त्यसपछि आफूले प्रतिवेदन पेश गर्ने बताए । ‘पूर्वाधारमा रकम प्रष्टता भएन’ सांसद थापाले  कोरियाको उदाहरण दिँदै करको दायरा बढाएकाले कुनैपनि लगानीकर्ता नआउने दावी गरे ।

अर्थमन्त्रीले बजेट बनाउदा साहस गर्न नसकेको भन्दै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका नाममा बजेट  छुट्याउनु गलत भएको बताए । ‘यो संसदीय व्यवस्थाको मर्मविपरित छ । सांसदले दिएका कुनैपनि सूची अर्थमन्त्रीले कटाउन सक्नु भएन ।’

‘कर बढाउने या दर बढाउने ? विज्ञ अर्थमन्त्री भनिएपनि उहाँले विज्ञता देखाउन सक्नुभएन । मेक्सिकोको सारी कार्यक्रम एक दिन बनाउदा २६ प्रतिशत व्यवसायी आए’ थापाले उदाहरण पेश गरे ।  
उनले पुजिँगत खर्चमा सार्वजनिक खरिदको कुरा पुरानै भएको भन्दै बजेट संगतिपुर्ण बनाउने कुरामा पनि चुकेको बताए ।  (रासस)

प्रतिक्रिया दिनुहोस