३३ किलो सुनकाण्डमा देखिएको ‘आरोप–प्रतिआरोप’

शुक्रबार, १८ जेठ २०७५, १४ : ०२
३३ किलो सुनकाण्डमा देखिएको ‘आरोप–प्रतिआरोप’

चितवन । ३३ किलो सुन तस्करीको अभियोगमा पक्राउ परेकाहरुले आफु दोषी नभएको बयान दिईरहेका छन् । सुन तस्करीकै अभियोग लागेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले प्रहरीको एक गुट आफुलाई फसाउन खोजेको भन्दै १२ पेज लामो अदालती बयान दिएका छन् । लामो समय फरार भएका एसएसपी खत्रीले बिहीबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए । लगतै उनको बयान लिइयो र थुनछेक बहस भएर खत्री पुर्पक्षका लागि थुनामा गएका छन् । एसएसपी खत्रीको अनलाइनखबरले हात पारेको छ ।

उनले आफूमाथि लागेको आरोप अस्वीकार मात्र गरेका छैनन, डीआईजी बढुवाको एक नम्बरको दाबेदार भएकाले प्रहरीकै कुनै गुटले फसाउन खोजेकोसमेत दाबी गरेका छन् । उनले भनेका छन , ‘अहिले बढुवाको टाइम भएको र म बढुवा हुने एक नम्बरमा परेको हुँदा कुनै गुटले गोरेलाई बाध्य बनाएर यस्तो बयान गर्न लगाएको हुनुपुर्छ ।’ड्राइभर विष्णुबहादुर खड्कालाई डरधम्की देखाएर रणनीतिक बयान दिन लगाएको उनको दाबी छ ।

एसएसपी खत्री विमानस्थल सुरक्षामा सेकेण्डम्यानका रुपमा खटिँदा खड्का ड्राइभर थिए र छानविन समितिसामू सुन तस्करीमा खत्रीको संलग्नता रहेको बयान खड्काले दिएका थिए । गोरेले पनि खत्रीलाई पोलेका छन् । तर, एसएसपी खत्रीले भने आफूले गोरेलाई नचिनेको बरु डीआईजी गोविन्द निरौलाले ‘साथीको छोरा’ भनेको दाबी गरेका छन् ।त्यही कारण गोरेले आफूलाई नगन्ने गरेको र विमानस्थलको गेटमा आफ्ना केटाहरुसँग झगडा गरेको भेटेपछि आफूले एकपटक हप्काएको उनको दाबी छ ।

एसएसपी खत्रीले आफ्नो बयानमा भनेका छन्, ‘गोरे भन्ने चुडामणि उप्रेती डीआईजी गोविन्द निरौलाको साथीको छोरा भएको हुँदा निकै धाकधम्की लगाउँथे । बाहिर मलाई सरुवा गरिदिन्छु भन्दै हिँड्थे रे ।’गोरेले आफ्ना नजिकका मान्छे (निरौला)लाई चिन्दनँ भनेकाले आफूलाई बचाउन सकिन्छ कि भनेर आफूविरुद्ध बयान दिएको हुनसक्ने खत्रीको दाबी छ । गोरेलाई पक्राउ गरेपछि बुढानीलकण्ठको एक होटलमा प्रहरीका उच्च अधिकारीले भनेको भेटेको तर, ४र५ जनाको नाम नलिनु, खतरा हुन्छ भनेको समाचार आफूले पढेको भन्दै उनले आफूलाई फसाउन प्लानिङ गरेको हुनसक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस