कामपामा आशा गरेजस्तो काम नभएको आरोप

विहीबार, १७ जेठ २०७५, २० : ५८
कामपामा आशा गरेजस्तो काम नभएको आरोप

काठमाडौँ । नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिकामा सोचेजस्तो काम हुन नसकेको जनाएको छ ।

कामपाका जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पुगेका अवसरमा प्रमुखका प्रतिष्पर्धी राजुराज जोशीले आज पत्रकार सम्मेलन गरी महानगरप्रमुख विद्यासुन्दर शाक्यले जनताको भावनालाई कदर गर्ने गरी काम गर्न नसकेको बताउनुभयो । “शाक्यले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा एकपक्षीय निर्णय गर्नुभएको छ”, उहाँले भन्नुभयो ।

उहाँले सम्पदा संरक्षणका नाममा सम्पदा मास्ने काम भइरहेको आरोप लगाउँदै शिक्षा, स्वास्थ्य, युवा परिचालन र सामाजिक सुरक्षा, शहरी पूर्वाधार र भूकम्पपछिको पुनःनिर्माणलगायत क्षेत्रमा केही काम नभएको बताउनुभयो । “म हारेर आराम गर्दै बसेको छैन, निरन्तर जनताका अधिकार र आवश्यकता पूरा भए÷भएनन् भन्ने बुझिरहेको छु”, जोशीले भन्नुभयो ।

कामपा उपप्रमुख हरिप्रभा खड्गीले आफ्नै अडानका कारण रानीपोखरीको निर्माण पुरानै शैलीमा हुन लागेको जिकिर गर्नुभयो । “रानीपोखरीको निर्माण पुरानै शैलीमा गर्नुपर्छ भनेर म निरन्तर लागेर सफल भएको हुँ”, उहाँले भन्नुभयो । उहाँले आफूले सुशासनयुक्त महानगर, धरहराको उचित संरक्षण, नेपाली सेनाले निर्माण गरेको महाङ्काललगायत स्थानमा बनेका भवनको नक्सा पास, विभिन्न समिति निर्माणलगायत योजना कार्यान्वयन गरेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस