पोखराको मेयर उम्मेदवार छान्न एमालेभित्र चुनाव

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ बैशाख २०७९, ०७ : ३९
पोखराको मेयर उम्मेदवार छान्न एमालेभित्र चुनाव

पोखरा । पोखरा महानगरपालिकाको मेयर तथा उपमेयर छान्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोखरा महानगर कमिटीले शुक्रबार पार्टीभित्रै निर्वाचन गर्ने भएको छ। अघिल्लो पालि पनि कार्यकर्ताहरुको मतका आधारमा एमालेले पोखराको मेयरमा मानबहादुर जिसीलाई चयन गरेको थियो।

एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेका अनुसार मेयरका आकांक्षी कार्यकर्ताहरुको मतका आधार छनोट गर्न शुक्रबार निर्वाचन गर्ने गरी कार्यतालिका बनाइएको छ। सहमतिको प्रयास पनि जारी रहेको उनले जनाए।  

अध्यक्ष न्यौपानेले बिहीबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै शुक्रबार जिल्ला पार्टी कार्यालयमा मतदान गर्ने बताए। पोखराको मेयरमा एमालेबाट १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका छन्। पोखरा महानगर कमिटी १ सय १० सदस्यीय छ। कमिटीका सदस्यले मतदान गर्ने छन्।

मेयर र उपमेयरको नाम सिफारिस गर्ने प्रयोजनका लागि गठित निर्वाचन कमिटीले पार्टीको विधान तथा निर्वाचन नियमावली ९संशोधन सहित०२०६९को अधिनमा रहेर निर्वाचन गर्न लागेको अध्यक्ष न्यौपानेले जानकारी दिए। 

मेयरका लागि केन्द्रीय सदस्यहरु मीनाकुमारी गुरुङ, भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन्। तर शुक्रबार यीमध्ये कतिपयले उम्मेदवारी नदिन पनि सक्छन्। नयाँ आकांक्षी पनि देखा पर्नसक्ने पार्टी स्रोत बताउँछ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस