कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउँछौं : अध्यक्ष ढकाल

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०८२, १६ : ३७
कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउँछौं : अध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरूलाई नेपालमै लगानी गर्न आग्रह गरेका छन् ।

नेपाली जनसम्पर्क समिति यूएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेकाले आम्दानीको केही अंश नेपालमै लगानी गर्न आग्रह गरेका हुन् ।

'नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू छन् । धेरै क्षेत्रहरू एक्सप्लोर गर्न बाँकी छ। ती क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन सकिन्छ,' उनले भने ।विदेशमा गरेको जस्तै लगानी र मिहिनेत नेपालमै गर्दा अधिक सम्भावना रहेको उनले बताए । 'मलाई के लाग्छ भने नेपालमा धेरै सम्भावना छ ।

धेरै क्षेत्रहरू एक्सप्लोर गर्न बाँकी छन् । तर, नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मकरूपमा लिने गरिएको पाइन्छ । अझ, विदेशमा बस्ने नेपालीहरुलाई विदेशको विकास र प्रविधिहरू देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ । म यहाँहरूलाई भन्न चाहन्छु । यदि साँच्चिकै विदेशमा गरेको जस्तै लगानी र मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन्,' उनले भने ।

उनले हालै नेपाल सरकारले गरेको कानून सुधारले लगानीकर्ताहरूमा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको उल्लेख गरे ।

'हालै नेपाल सरकारले दुई दर्जन बढी कानूनहरू सुधार गरेर मुलुकमा लगानीका लागि मार्ग प्रशस्त गर्न खोजेको छ । यो निजी क्षेत्र, विशेष गरी नेपाल उद्योग वाणिज्य महासंघकै पहलमा भएको हो । म नेतृत्वमा आएदेखि नै हामीले मुलुकमा लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउन विशेष पहल गरिरहेका छौं । वैदेशिक लगानीका साथै गैरआवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरूले पनि आफ्नो केही हिस्सा नेपालका विभिन्न क्षेत्रमा लगानी गराउन सकियो भने हामीले अपेक्षा गरे जस्तो विकास सम्भव हुन्छ । मुलुकको विकास तपाई हामी सबै मिलेरै गर्ने हो,' उनले भने । 

उनले मुलुकभित्र लगानी गरेर उत्पादन, रोजगारी र राजश्व वृद्धिमा सहयोग गर्न समेत गैरआवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई आग्रह गरे ।

उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायत विभिन्न वक्ताहरूले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस