एमाले सचिवालय बैठकमा ओलीले के भने ?

पत्रपत्रिकाबाट

विहीबार, २० माघ २०७८, ०७ : ५८
एमाले सचिवालय बैठकमा ओलीले के भने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताएका छन्। भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका हुन्।

सरकार संविधान कार्यान्वयन, संघीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता स्वार्थमा केन्द्रित रहेको आरोप लगाउँदै उनले कानुन एवं संविधानबमोजिम फागुनभित्र निर्वाचन गर्न एमालेले पटक(पटक ध्यानाकर्षण गराउँदा पनि नगरेको बताए। कोरोनाविरुद्धको २४ लाख खोप हराउनु सरकारको गम्भीर लापरबाही भएको भन्दै छानविन पनि नहुनु दुर्भाग्य भएको उनले टिप्पणी गरे।

एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको छ। बैठकपछि सञ्चारकर्मीलाई बैठकको निर्णयबारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको मिति भोलि बिहीबारसम्म नतोके सातै प्रदेश र केन्द्रबाट दबाबमुलुक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।

एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएको छ। बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन एवं अन्तर्घातको छानबिन गर्न कारबाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको उनले जानकारी दिए। 

केही दिन अगाडि पार्टी छोडेकी तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुखलाई निष्काशन गर्ने निर्णय सचिवालय बैठकले गरेको जानकारी दिँदै प्रचार विभाग प्रमुख गुरुङले रौतहट र पर्सामा जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिइएको जानकारी दिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस