काँग्रेस उपसभापतिमा निधि र महामन्त्रीमा खड्का मनोनीत

शुक्रबार, २१ बैशाख २०७५, १८ : ४८
काँग्रेस उपसभापतिमा निधि र महामन्त्रीमा खड्का मनोनीत

काठमाडौँ । नेपाली काँग्रेसको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महत मनोनीत हुनुभएको छ । काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको आज बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले उहाँहरुको नाम प्रस्ताव गरेपछि बैठकले अनुमोदन गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले राससलाई जानकारी दिनुभयो ।

मनोनयन हुनुभएका तीनै जना पदाधिकारी सभापति देउवा पक्षका हुनुहुन्छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उक्त निर्णयप्रति असहमति जनाएको बताइएको छ । काँग्रेसको विधान २०१७ को दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । विधानको सोही प्रावधानअनुसार सभापति देउवाले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीलाई आज मनोनयन गर्नुभएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस