महाधिवेशनपछि को अध्यक्ष हुने अहिले घोषणा हुँदैन : योगेश भट्टराई

मंगलबार, १८ बैशाख २०७५, १७ : ००
महाधिवेशनपछि को अध्यक्ष हुने अहिले घोषणा हुँदैन : योगेश  भट्टराई

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) सँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा अहिले समान अस्तित्वका आधारमा पार्टी एकता हुने तर भविष्यमा फलानो अध्यक्ष हुन्छ भनेर घोषणा गर्न नमिल्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “कुनै डाइनेष्टीमा पहिल्यै उत्तराधिकारी घोषणा हुन्छ । लोकतान्त्रिक पार्टीमा यस्तो हुँदैन । जो पनि अध्यक्ष हुन सक्छ । अरु नेता र कार्यकर्ताको व्यवस्थापन हुनुपर्छ ।”

राजनीतिक दस्तावेज तयार भइसकेको तर संगठनको गणित र साझा मनोविज्ञान मिलाउन बाँकी रहेको उल्लेख गर्दै सचिव भटृराईले भन्नुभयो, “विगतमा अल्मलिएर होइन आगामी बाटोलाई प्राथमिकताका साथ जान हामीबीच कुनै विमति छैन । यहाँ कति हिस्सा भन्ने समस्या पनि छैन, एकता भएपछि दुवै पक्षलाई सिंगो पार्टी र शतप्रतिशत सबैको हुन्छ । पचास वा अरु प्रतिशतमा अल्मलिनु पर्दैन ।”

उहाँले भारतसँगको सम्बन्ध सुधार्दै सरकारले समृद्धि र स्थिरताको खाका ल्याउनु सकारात्मक विषय भएको बताउनुभयो । नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले निर्वाचनमा पराजयको समीक्षा गर्दै आफ्नो चुनौतीलाई सामनासहित काँग्रेस अघि बढ्ने बताउनुभयो । उहाँले आफूहरु लोकतान्त्रिक पार्टी भएकाले विवादहरु भए पनि त्यसको व्यवस्थापन गर्दै यही वैशाख २१ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारीको मनोनयन गर्नुहुने जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिँडारीले समाजवादउन्मुख संविधानलाई कार्यान्वयन गर्दै मुलुकको आर्थिक समृद्धिका लागि वर्तमान सरकारले काम गर्नुपर्ने र समाजवादको आधार तय गर्न पार्टी एकीकरण हुन लागेको बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस