हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन : प्रचण्ड

शनिबार, १५ बैशाख २०७५, १८ : ५६
हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको नक्कल गरेर नहुने बरु विकास गर्नुपर्ने बताएका छन् । शनिवार अपरान्ह खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लव समुहका नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘ हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०/२५ वर्षको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।’ अध्यक्षले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउने कै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उनको धारणा थियो । उनले भने, ‘जसले बाली लगायो, उसैले थन्काउन पाउने नै वैज्ञानिक कुरा हो ।’ दुईचार दिन समय लिएपनि एमाले माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्ने उनको भनाई थियो । शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने बिषयमा छलफल भएको अध्यक्षले स्मरण गर्नुभयो । त्यसलाई माओवादी नेतृत्व र बिचारले नै पहल गर्नुपर्ने सल्लाह भएको उनको भनाई थियो ।

‘त्यतिखेर केही साथीहरुले यो उपलब्धीलाई पचाउन सकेनन् र उनीहरुलाई बचाउन पनि सकिएन,’ उनले भने, ‘पहिलो संविधान सभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो । तर हामी सफल भइएन । हाम्रा विरोधीहरु माओवादी आन्दोलनलाई टुक्रा टुक्रा बनाउन सफल भए । ’

माओवादीलाई फुटाएर परिवर्तनका मुद्दाहरुलाई लावारिस बनाउने खतरा पैदा भएको उल्लेख गर्दै प्रचण्डले अब सबै छरिएर रहेका माओवादीहरु ढिलोचाँडो मूल पार्टीमा फर्कने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा विप्लव समुहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज र सेक्रेटरीसहित दुई दर्जनभन्दा बढि नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।

उनीहरुले विप्लव नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंश तर्फमात्र अगाडि बढेन कतिपय सामाजिक अपराधिक क्रियाकलापजन्य घटनाहरुलाई समेत क्रान्तिकारी कामको जामा पहिर्याएर अगाडि बढ्ने बाटो समातेको बताए ।

प्रतिक्रिया दिनुहोस