बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म : सभामुख महरा

शनिबार, १५ बैशाख २०७५, १५ : १४
बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म : सभामुख महरा

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले बहुभाषा, बहुजाति, बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म भएको बताउनुभएको छ ।
प्रथम मारवाडी महोत्सवको आज यहाँ शुभारम्भ गर्दै उहाँले विविधतामा नै एकता नेपालको सुन्दरता हो भन्नुभयो । सभामुख महराले औद्योगिक व्यवसायलाई प्रवद्र्धन गर्न मारवाडी समुदायको पनि भूमिका रहेको चर्चा गर्दै मानवीय सेवाका क्षेत्रमा मारवाडी समुदायको निरन्तर सहयोगले विपन्न वर्गको उत्थान भइरहेको विचार व्यक्त गर्नुभयो ।

झापा मारवाडी समाजद्वारा आयोजित सो समारोहमा उहाँले मारवाडी गौरव सम्मानबाट प्रा डा जगदीश अग्रवाल, विनोद चौधरी, ओमप्रकाश सारवी, दिनबन्धु गोयललगायतलाई सम्मानित गर्नुभएको थियो । सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतको आर्थिक समृद्धिमा मारवाडी समुदायको उल्लेखनीय योगदान रहेको चर्चा गर्नुभयो । सो महोत्सवमा मारवाडी समुदायका वेशभूषा, रहनसहन, खानपिन झल्किने प्रदर्शनी गरिएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस