गंगामायाको निधनले पार्टीलाई क्षति : माओवादी केन्द्र चितवन

सफल खबर संवाददाता

शनिबार, १३ कार्तिक २०७८, १९ : ३४
गंगामायाको निधनले पार्टीलाई क्षति : माओवादी केन्द्र चितवन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति सचिवालय सदस्य एवम् चितवन जिल्ला सह–इन्चार्ज, बागमती प्रदेश सभाका सदस्य, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल (अविनाश) लाई मातृशोक परेको छ । उनको आमा नेकपा (माओवादी केन्द्र) का पार्टी सदस्य गंगामाया दाहालको आज ७९ वर्षको उमेरमा आफ्नै निवास कृष्णपुरमा असामयिक  निधन भएको छ । 

गंगामाया दाहाल वि सं १९९९ मा कास्की जिल्लामा जन्मेकी थिइन् । दाहाल परिवार २०३१ सालमा चितवनको माडीमा बसाइँसराइ गरी आएको थियो । उनको परिवार भरतपुर ७ कृष्णपुरमा रहेको छ । नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा एक कुशल कर्मठ इमान्दार योद्धा जन्माउने आमाको देहवसानले क्रान्तिकारी कम्यूनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको नेकपा माओवादी केन्द्र चितवनले जनाएको छ । 

नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला पार्टी पंक्ति स्तब्ध एवम् मर्माहत  हुन पुगेको नेकपा माओवादी चितवन अध्यक्ष यमबहादुर परियारले बताए । लामो समयदेखि दम रोगबाट पीडित आमाको उपचारको क्रममा निधन भएको हो ।  दिवंगत आमाले ८ छोरी र २ छोरालाई जन्म दिएको थिइन् । जसमध्ये कान्छा छोरा ऋषिराम दाहाल दिवंगत भइसकेका छन् । 


 

प्रतिक्रिया दिनुहोस