दुई वटा प्रणाली एकसाथ सक्रिय हुँदा भारी वर्षा

रासस

मंगलबार, ०२ कार्तिक २०७८, १८ : ५६
दुई वटा प्रणाली एकसाथ सक्रिय हुँदा भारी वर्षा

काठमाडौँ । नेपालबाट मनसुन बाहिरिएलगत्तै ठूलो वर्षा हुन्छ भन्ने कसैले सोचेका पनि थिएनन्। एक्कासि मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज नराम्ररी प्रभावित हुन पुगेको छ।  खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुइटा प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको बताएका छन्।

हाल बङ्गालको खाडीमा र मध्य भारतमा रहेको ९उत्तरतिर सर्दै गरेको० न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। त्यसैले भारी वर्षा गराएको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए। यसले बिहीबार बिहानसम्मै प्रभाव पार्ने उनको भनाइ छ। बिहीबार दिउँसोबाट भने मौसम खुल्दै जानेछ। यो प्रणाली असोज ३१ बाटै सक्रिय भएको थियो। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै सार्वजनिक गरेर सतर्क गराएको थियो। 

दुई वटा प्रणाली सक्रिय हुँदा पश्चिम नेपाल ९विशेष गरी सुदूरपश्चिम प्रदेश० नराम्ररी प्रभावित भएको छ। नेपालका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावितको उद्दार तथा राहतमा मुलुककै ध्यान केन्द्रित भएको छ। यकिन विवरण आइनसके पनि विभिन्न १२ भन्दा बढी जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ।

डोटीमा दुई र डडेल्धुरा तथा कालीकोटमा एकरएक गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षाका कारण कालीकोट, डडेल्धुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ। मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ। 

प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिरोका कारण अवरूद्ध भएको गृह मन्त्रालयले जनाएको छ।  यसअघि डुबानमा परेका कञ्चनपुरका २०० प्रभावितलाई भने सुरक्षाकर्मी र स्थानीय प्रशासनको पहलमा उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ। ठाउँठाउँमा फसेकालाई अहिले पनि जिल्लास्तरबाट उद्दार कार्य जारी रहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्।

सडक अवरूद्ध हुँदा कति ठाउँका पर्यटक फर्कन नसकेको बताइएको छ। प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले सुदूरपश्चिमका अधिकांश सडक अवरूद्ध भएको जानकारी दिए। प्रतिकूल मौसमका कारण हवाई उडानसमेत प्रभावित हुन पुगेको छ। 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू(भागमा सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षा भएको छ। 

बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद प्रधानाङ्गले बताए। यसपटक मनसुनमा धेरै वर्षा भएको थियो। पोष्ट मनसुनमा समेत ठूलो वर्षा भयो। वर्षाले सुदूरपश्चिम क्षेत्रलगायत विभिन्न ठाउँलाई प्रभावित पारेपछि राहत तथा उद्दारको व्यवस्थापनमा लाग्न प्रधानमन्त्री शेरबहादुर देउवाले  निर्देशन दिइसकेका छन्। गृहमन्त्री बालकृष्ण खाणले पनि मातहतका निकायलाई उद्दार तथा राहतका कार्यमा कुनै कसर बाँकी नराख्न सुरक्षा अधिकारी र प्रशासनलाई निर्देशन दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस