चितवनका विभिन्न स्थानमा भारी वर्षा

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, ११ : ५५
चितवनका विभिन्न स्थानमा भारी वर्षा

चितवन । चितवनका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले चितवनका खोला तथा नदीहर”मा बाढी आउने चेतावनी जारी गरेको छ ।

महाशाखाका अनुसार चितवनको माडीस्थित कल्याणपुर वर्षा मापन केन्द्र र आसपासमा पछिल्लो ३ घण्टामा १०४ मिलिमिटर वर्षा भएको छ । यसैगरी चर्चरेमा १०० मिलिमिटर वर्षा मापन भएको छ ।

गोविन्द बस्तीमा ७४.८, कालीखोलामा ३१.४, ठोरीमा २४.८ र रामपुरमा २४.६ मिलमिटर वर्षा मापन भएको छ । बाढी पूर्वानुमान महाशाखाले रिउखोला र यसका सहायक नदीहरूमा आकस्मिक बहावको सम्भावना देखिएकोले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन भनेको छ ।

ती स्थानमा थप वर्षा हुने सक्ने भएकाले दिउँसोसम्मै सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन थप सक्रिय हुँदै गएपछि प्राय सबैजसो प्रदेशहरूमा वर्षा भइरहेको छ । पानी पार्ने बादल विकसित भइरहेकाले थप वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस