प्रतिनिधिसभा बैठक : एमालेको अवरोधबीच दुई विधेयक फिर्ता

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १४ : ००
प्रतिनिधिसभा बैठक : एमालेको अवरोधबीच दुई विधेयक फिर्ता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधबीच प्रतिनिधिसभा बैठक सुरु भएको छ। संसद् बैठक सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी गरिरहेका छन्।

अवरोधबीच सभामुख अग्नि सापकोटाले संसद् बैठकलाई अगाडि बढाएका हुन्। बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय निजामती सेवा विधेयक र रेल्वे सेवा विधेयक फिर्ता  लिएको जानकारी दिएका छन्। 

१९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको मन्त्री कार्कीले संसद्लाई जानकारी गराएका हुन्। विधेयक फिर्ताको प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले विरोध गरेका थिए।

सभामुख सापकोटाले विधेयक बहुमतले फिर्ता लिने प्रस्ताव स्वीकृत भएको घोषणा गरेका छन्। योसँगै आजको प्रतिनिधिसभाको बैठक सकिएको छ। सभामुख सापकोटाले सभाको अर्को बैठक असोज २५ गते सोमबार दिउँसो २ बजे बस्ने जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस