सुर्खेत। कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले बीमा कम्पनी र मन्त्रालय मातहतका कार्यालयलाई पशुपन्छी बीमा, बाली बीमा र जडीबुटी बीमाको तथ्यांक राख्न निर्देशन दिएका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पशुपन्छी बीमासम्बन्धी सरोकारवालाहरूबीचको कार्यशालामा बोल्दै मन्त्री शाहले कम्पनीहरूले बीमा गरेका पशुपन्छीहरूको अभिलेख राख्नुपर्ने बताए ।कार्यशालामा सहभागी बीमा कम्पनीका कर्मचारीहरूले बीमाको तथ्यांक नै नराखेको पाइएपछि मन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् ।
उनले पशुपन्छी पालन किसानहरूलाई बीमा गर्नुभन्दा पहिला यससँग सम्बन्धित ज्ञान सिकाउन जरुरी रहेको बताए ।उनले भने, ‘पशुपन्छी पालन किसानहरूलाई उनीहरूले गर्ने बीमाका विषयमा जानकारी गराउन आवश्यक छ ।
किसानहरूलाई त्यसका बारेमा बुझाउन सकेनौं भने बीमा कार्यक्रम सफल हुँदैन । त्यसैले किसानहरूको आवश्यकता अनुसार बीमा कम्पनीहरूले बीमा गराउनु पर्दछ ।’
साथै मन्त्री शाहले स्थानीय तह तथा मन्त्रालय मातहतका जिल्ला कार्यालयहरूले बीमा नतिजा आउने गरेर काम गर्न सुझाव दिए ।
यस्तै, सचिव टीकाराम थापाले बीमासम्बन्धी ऐन, कानून, नियमावली तथा निर्देशिकाहरूको अध्ययन गरी किसानहरूलाई बुझाएर मात्रै बीमा गर्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १६ : २२
लेखकबाट थप