जसले जतिसुकै प्रयास गरे पनि पाँच दलीय गठबन्धन फुट्दैन : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ०२ असोज २०७८, १७ : ३८
जसले जतिसुकै प्रयास गरे पनि पाँच दलीय गठबन्धन फुट्दैन : प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले जसले जतिसुकै प्रयास गरे पनि पाँच दलीय गठबन्धन नफुट्ने बताएका छन् ।

शनिबार जनकपुरमा नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रशिक्षण कार्यक्रम समापनपछि पत्रकार सम्मेलनमा प्रचण्डले एमसिसीका कारणले पाँच दलीय गठबन्धन नफुट्ने बताए ।

प्रचण्डले आफूहरुका लागि एमसीसी भन्दा गठबन्धन नै महत्वपूर्ण रहेको बताएका हुन्। ‘संविधान लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो’ उनले भने, ‘एमसीसीका कारण गठबन्धन फुट्दैन।’ दाहालले आफूहरु एमसीसीविरुद्ध नरहेको बताउँदै तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट पास गर्नुपर्नेमा जोड दिएका छन्।

प्रचण्डले असोज ४ र ५ गतेभित्र सरकारले पूर्णता पाउने पनि दावी गरेका छन्।