२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि

रासस

सोमबार, १४ असोज २०८१, १६ : १६
२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि

गण्डकी । मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडाका मनहरि भण्डारीले २२ वर्षअघि यो घर किन्दा वरिपरि वनपाखा मात्र देखिन्थ्यो । पक्की घर बनिसकेका थिएनन् । धवलागिरि क्षेत्र जोड्ने उक्त राजमार्ग भएकाले सो क्षेत्र हुँदै यात्रुको आवातजावत भने बाक्लै हुन्थ्यो ।

नजिकैको पर्यटकीय सहर पोखराबाट घुमफिरका लागि पनि मनिस नागडाँडासम्म पुग्थे । पुर्ख्यौली थलो नजिकै राजमार्गछेउ घर किनेका ६० वर्षीय भण्डारीले राजमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गाउँले प्रकृतिको खाजाघर सञ्चालन गरे ।

‘हाम्रो भण्डारी खाजाघर’का नाममा रहेको उक्त खाजाघरलाई कतिपयले ‘भण्डारी बा’को खाजाघर पनि भन्छन् । पाको उमेरमा खाजाघरमा गाउँले स्वाद पस्किरहेका उनले २० वर्षदेखि राजमार्गका पाहुनाको मन जितिरहेका छन् ।

राजमार्गमा यात्रुको चापसँगै पर्यटकीय गतिविधि बढेपछि खाजाघरको क्षमता विस्तार गर्दै लगेको उनले बताए । यात्रुदेखि अन्य पाहुना त्यहाँको रैथाने जातको बोका र कुखुराका परिकारमा बढी लोभिने गर्छन् । खानादेखि खाजाका सबै परिकार दाउराको आगोमा पकाएर पस्कने गरेको भण्डारीले बताए ।

जैविक र गाउँले स्वादका कारण उक्त खाजाघर ग्राहकको रोजाइमा परेको हो । ‘स्थानीय खानाका परिकार पाहुनालाई टकार्छौँ’, उनले भने, ‘भात पनि रैथाने जेठोबुढो, पहेँलेलगायत चामलको पकाउँछौँ ।’ खाजाघरमा पाइने तातो दूधले पनि पाहुनालाई लोभ्याउने गरेको छ ।

स्थानीय किसानकहाँबाट ल्याइने भैँसी र गाईको दूध पाहुनाले स्वाद मानेर खान्छन् । खाजाघरमै बसेर दूध पिउनेदेखि किनेर घरमा लैजानेसम्मको सुविधा रहेको उनको भनाइ छ । मासु, तरकारी लाई चाहिने मरमसला पनि सिलौटौमा पिन्ने गरेको उनले सुनाए ।

यामअनुसार गाउँमा उब्जेको तरकारी पनि उनले बिक्रीमा राख्दै आएका छन् । लेकाली निगुरो, काँक्रो, घिरौँलालगायत हरियो तरकारी अहिले पनि बेचिरहेको भण्डारीले बताए । ‘बजारबाट हामीले धेरै सामान किन्दैनौँ, भान्छामा अधिकांश थानीय उत्पादनको प्रयोग हुन्छ’, उनले भने, ‘ग्राहकले हाम्रो खाना र आतिथ्यता संस्कारलाई मन पराइदिनुभएको छ, यसमै हामी खुसी छौँ, व्यवसायबाट हाम्रो परिवार सन्तुष्ट छ ।’

भण्डारीलाई व्यवसायमा श्रीमती चन्द्रकला, छोरा सुदर्शन, सुनिल र बुहारी बिमलाले सघाउँदै आएका छन् । दैनिक एक सयभन्दा बढी पाहुनालाई खाजाघरले सेवा पुर्‍याउँदै आएको छ । ‘धेरैजसो यहाँ खाजाका लागि आउनुहुन्छ, खाना खानेको संख्या केही कम छ’, भण्डारीका छोरा सुनिलले भने, ‘विशेष गरी दाउराको चुलोमा पाक्ने स्थानीय जातको बोका र कुखुराका परिकार पाहुनाको रोजाइमा पर्ने गरेको छ ।’

इञ्जिनियर विषयको पढाइ पूरा गरिसकेका सुनिल पनि अहिले बुबासँगै सोही व्यवसायमा जोडिएका छन् । दस वर्ष विदेश बसेर फर्किएका भण्डारीका जेठा छोरा सुदर्शन पनि अहिले घरमै बसेर सोही व्यवसायमा हातेमालो गरिरहेका छन् ।

६० वर्षको उमेरमा पनि उहाँले व्यवसायप्रति देखाएको लगाव र परिश्रमलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । उनको प्रेरणाबाट सो क्षेत्रमा अन्य व्यवसायीले पनि खाजाघर सञ्चालनमा ल्याएका छन् । ती खाजाघरले पनि मौलिक ढंगबाट व्यवसाय प्रवर्द्धन गरिरहेका छन् ।

‘हामीले सुरुमा खाजाघर सञ्चालन गर्दा यहाँ यतिधेरै घर पनि बनेका थिएनन्, अहिले खाजाघर पनि थपिएका छन्, यस क्षेत्रको व्यवसाय विस्तार हुँदै गएको छ’, भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस