झाप्लेखोला पहिरो : २९ वटा शव निकालियो , १३ जनाको पहिचान खुल्यो

सफल खबर संवाददाता

आइतबार, १३ असोज २०८१, १२ : १७
झाप्लेखोला पहिरो : २९ वटा शव निकालियो , १३ जनाको पहिचान खुल्यो

धादिङ । धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ। सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेले विंगर र बसभित्रबाट ती शवहरू निकालिएको जानकारी दिए। यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो।

आइतबार बिहान स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा बसबाट थप शवहरू भेटिन थालेको हो। यस्तै भेटिएकामध्य १३ जना मृतकको परिचय खुलेको छ। गत शुक्रबार बिहान बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिपमा चालक रमेश लुइटेलसहित १४ जना मृत अवस्थामा फेला परेको थियो। पहिचान खुल्नेमा स्याङजाको गल्याङ नगरपालिका वडा नं ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ वर्षका दिपेश र दिपिका भट्टराई तथा उनीहरूकी आमा सिता भट्टराई छन्। बुटवलको सेमलारका प्रकाश कुंवर, सिर्जना कुंवर, अनु मल्ल, गुल्मीको चारपालाका विरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्। त्यस्तै कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारी छन्।

नागढुंगा प्रहरी प्रभागका अनुसार उनीहरूको शव गएराति ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समुहका गरी ७ जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन। पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान लु १ ज ४५७८ नम्वरको उक्त जिपमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउण्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर ३ जना चढेका थिए।

यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ। तीमध्ये बोम कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ। यही ठाउँमा आइतबार पनि थप शवहरू फेला परेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले खोजी तथा उद्धार गरिरहेका छन्।