संविधानले जनताको अधिकारलाई आत्मसात् गरेको छ : प्रदेश प्रमुख देवकोटा

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १२ : ०७
संविधानले जनताको अधिकारलाई आत्मसात् गरेको छ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानले जनताको अधिकारलाई आत्मसात् गरेको बताएका छन् । संविधानले राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेको उनले बताए ।

संविधान दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले इतिहासमा पहिलो पटक जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूले संविधानसभामार्फत जारी भएको संविधान आफैँमा उत्कृष्ट रहेको बताए ।

जनताको प्रतिस्पर्धामक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, निष्पक्ष तथा सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा संविधानको मुख्य विशेषता रहेको उनको भनाई छ ।

‘संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेको छ । जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको छ’ उनले भने, ‘संविधानले नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्रताको विशेषता बोकेको छ।

विविधतामा एकता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धनमा संविधानले जोड दिएको छ ।’

लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्नु संविधानले मार्गदर्शन गरेको उनले बताए । संविधानको मर्म र भावनालाई अक्षरशः पालना गरेमा देश समृद्धितर्फ द्रुत गतिमा अघि बढ्ने उनले विश्वास व्यक्त गरे । इतिहासका विभिन्न कालखण्डमा नेपाली जनताको त्याग र बलिदानको उपज यो संविधान नेपाली जनभावना र मर्म सापेक्ष रहेको उनले बताए ।

‘संविधानले निदृष्ट गरेका पक्षहरूलाई कार्यान्वयन गर्दै अघि बढ्दा सकारात्मक परिणाम प्राप्त हुनेछ । कार्यान्वयनको इमानदारितामा सबै पक्षको उचित पहल अनिवार्य छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस