उपकुलपति सिंहको अभिव्यक्ति : ‘प्रधानमन्त्री देउवालाई संसदीय भाषामा मात्रै कुलपति मान्छु, मेरा कुलपति ओलीनै हुन्’

पत्रपत्रिकाबाट

शुक्रबार, १५ साउन २०७८, ०७ : ४१
उपकुलपति सिंहको अभिव्यक्ति : ‘प्रधानमन्त्री देउवालाई संसदीय भाषामा मात्रै कुलपति मान्छु, मेरा कुलपति ओलीनै हुन्’

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह आफ्नै अभिव्यक्तिले विवादमा तानिएका छन्। सिंहले तीन दिनअघि नेकपा एमालेको केपी शर्मा ओलीनिकट विद्यार्थीहरुसँगको कार्यक्रममा दिएको मन्तव्यको अडियो रेकर्ड बाहिरिएको छ। अडियो रेकर्डमा आफू एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवादको पक्षधर भएकाले प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति शेरबहादुर देउवालाई ‘संसदीय भाषामा मात्रै’ कुलपति मान्ने अभिव्यक्ति दिएका छन्।  

‘संसदीय भाषामा भन्दा शेरबहादुर देउवालाई कुलपति भनौंला,’ सार्वजनिक भएको अडियोमा उपकुलपति प्रा।डा। सिंहले भनेका छन्, ‘तर, मेरो कुलपति केपी ओली हो।’ उनले आफ्ना लागि एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवाद महत्वपूर्ण भएको दावी गरेका छन्। उनले केपी ओलीले लिएको तीन वर्षको राष्ट्रवादी आन्दोलन, त्यसको एकीकृत मनोभावनालाई लिएर जनताको बीचमा जानु आवश्यक रहेको बताएका छन्।  

त्यसका लागि सडकमा जानुको विकल्प नभएको उनको भनाई छ। ‘हामी सशक्त भएनौ भने हामीसँग लागेका मानिसहरु भड्किन सक्छन्, आगामी चुनावका लागि त्यो खतरा हुनसक्छ,’ उनले भनेका छन्, ‘हामी संघर्षशील छौं, संगठनको झण्डा लिएर सडकमा जानु आवश्यक छ, अखिल, युवा संघ, शिक्षक, विद्यार्थी, मजदूरलगायतका पार्टीका संगठन एक–एक महिना सडकमा आउँदा ९–१० महिनासम्म सबैको ध्यान तान्न सक्छौं, जनता हाम्रो पक्षमा रहिरहन्छन्।’

उनले यसअघिका उपकुलपति प्रा।डा। उपेन्द्र कोइरालालाई ‘कांग्रेससँग लेनदेन नमिलेर’ एमाले पार्टीसँग गुहार मागेको आरोप पनि लगाएका छन्। ‘म आउनुअघिका उपकुलपतिले कांग्रेससँग मिलेर विश्वविद्यालयको पूरै बजेट सिध्याउने काम गरे,’ अडियोमा भनिएको छ, ‘लेनदेन नमिलेपछि मात्रै एमाले भनेर देखिएका हुन्।’ कोइराला उपकुलपति हुँदा रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल थिए।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस