‘जिउँदो लाश’ बनेको ३ वर्षपछि मोडल निशा घिमिरेको उद्धार

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १६ : २८
‘जिउँदो लाश’ बनेको ३ वर्षपछि मोडल निशा घिमिरेको उद्धार

काठमाडौं । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ । नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको आज उद्धार गरेकी हुन् । 

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए । 

काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । 

‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचार समेत हुन सकेन ।’ उनलाई नजिकबाट चिन्ने र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका नवजीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालले भने–‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धार गर्ने व्यवस्था मिलाउनुभएको हो ।’ 

दाहालका अनुसार दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी निशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने दाहाल सुनाउँछन् । ‘कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था दर्दनाक देखेपछि मैले सहयोगको अपीलसहित पोष्ट गरेँ ।’ दाहालले भने–‘मनकी धनी मेघा चौधरी ज्यूले म उपचार गर्छु भनेर उद्धार गर्नुभयो । म धेरै खुशी छु ।’

यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । बिहीबार बिहान कलाकार घिमिरेको उद्धार गरिएको थियो । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । 
हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ । 

प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन । नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकित्सकहरुलाई उद्धृत गर्दै दुर्गा दाहालले भने–‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’ 

हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेसपोन्स गर्नसक्ने अवस्थामा छैनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि चौधरीको पहलमा उनको उद्धार भएकोमा छिमेकी र उनका अभिभावक समेत खुशी छन् । 
‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस् ।’ निशाका बुबाले भने–‘छोरी जिउँदो लाश भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’ 

उद्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको संभव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् । 

समाजसेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौ असहायलाई उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरिसकेकी छिन् । 
 

प्रतिक्रिया दिनुहोस