ओएसिस मेडिकल कलेज र टिचिङ हस्पिटलबारे छानवीन समिति

विहीबार, २२ चैत्र २०७४, २१ : ०२
ओएसिस मेडिकल कलेज र टिचिङ हस्पिटलबारे छानवीन समिति

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले चितवनको भरतपुरस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलबारे छानवीन गर्ने भएको छ ।

स्वास्थ्य सचिव डा पुष्पा चौधरीले सचिवस्तरीय निर्णय गर्दै उक्त कलेजले मापदण्ड नपु¥याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको भन्ने विषय बाहिर आएपछि प्रमुख विशेषज्ञको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति बनाउनुभएको हो । प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलको संयोजकत्वमा गठित समितिमा चिकित्सा सेवा महाशाखा, नर्सिङ शाखा र कानुन शाखा प्रमुख एवं जनसंख्या प्रशासन तथा अनुमगन महाशाखाका उपसचिव सदस्य रहनुभएको छ ।

नर्सिङ शाखा प्रमुख रोशनीलक्ष्मी तुइतुईले समितिका सदस्यको बैठक बसी प्रक्रिया अघि बढ्ने बताउनुभयो । नेपाल नर्सिङ परिषद्बाट सम्बन्धन नै नलिई मापदण्डविपरीत कलेजले स्नातक नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि परिषद्ले कारवाही प्रक्रिया अगाडि बढाउन मन्त्रालयमा पत्र पठाएपछि सो समिति बनाइएको हो ।

नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा गोमादेवी निरौलाले परिषद् ऐन २०५२ को दफा ९ अनुसार शिक्षण संस्थाले अध्यापनका लागि परिषद्बाट मान्यता लिनुपर्ने मापदण्ड पूरा नगरी विद्यार्थी अध्यापन गराएको बताउनुभयो ।

उहाँले पिसिएल नर्सिङको मान्यता देखाएर स्नातक नर्सिङ पढाइरहेको भन्दै ओएसिसले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन नलिएको पटक पटक जानकारी गराउँदा पनि विश्वविद्यालयले विद्यार्थी भर्ना लिने क्रम नरोकेको जानकारी दिनुभयो ।

परिषद्ले पटक पटक पूर्वाञ्चल विश्वविद्यालय र ओएसिसका नाममा भर्ना नगर्न जानकारी गराएको बताउँदै प्रा निरौलाले भन्नुभयो, “हामीले राष्ट्रिय पत्रिकामै सूचना निकाली उक्त कलेजले परिषद्को मान्यता नलिएकाले भर्ना नहुन भनी विद्यार्थी, अभिभावकलाई जानकारी गराउन सूचनासमेत दुई पटक निकालेका थियौँ ।”

यसबारे शिक्षामन्त्री गिसिरराजमणि पोखरेलले पनि समिति बनाई छानवीन प्रक्रिया अघि बढाएको जानकारी दिएको परिषद्ले जनाएको छ । परिषद्बाट मान्यता नै नपाएको उक्त कलेजमा स्नातक नर्सिङ अध्ययन गरेका पहिलो ब्याचका विद्यार्थी शोभा अर्याल र तनुजा श्रेष्ठलाई परिषद्को दर्ता परीक्षामा सहभागी नगराइएपछि तथ्य बाहिर आएको थियो । उनीहरुले दर्ता परीक्षामा आफूहरुलाई भाग लिन नपाएको भन्दै परिषद् पदाधिकारीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस