उपाधिसहित घर फर्किएको महिला भलिबल टोलीलाई नेपाल प्रहरीको स्वागत

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, ११ : ३७
उपाधिसहित घर फर्किएको महिला भलिबल टोलीलाई नेपाल प्रहरीको स्वागत

काठमाडौं । माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेर स्वदेश फर्किएको नेपाल पुलिस क्लबको टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

विजेता टोलीलाई प्रहरीका अधिकृतहरुले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरे । साथै उनीहरुलाई फूल र बेलुनले सजाइएको प्रहरी भ्यानमा राखेर गन्तव्यतर्फ पुर्‍याइएको छ ।

शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको थियो । मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५–१६, २५–२२, २५–२३ ले पराजित गरेको हो ।

६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो ।पुलिसले लिग चरणमा हुमोसहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० ले पराजित गरेको थियो ।

यस्तै माल्दिभ्सको वाम्को क्लबलाई ३–२ ले तथा माल्दिभ्सको माल्दिभ्स लिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका र ताजकिस्तानका समान १ तथा माल्दिभ्सको २ गरी कूल ६ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस