रास्वपाले बोलायो आकस्मिक भेला

सफल खबर संवाददाता

आइतबार, ०६ असोज २०८१, १९ : २२
रास्वपाले बोलायो आकस्मिक भेला

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।

रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरूलाई यथाशक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।

रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरू पार्टी कार्यालय वनस्थलीमा छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।