संरक्षणमा जोड दिँदै सकियो मिडिया कार्यशाला

विहीबार, २२ चैत्र २०७४, २० : ५१
संरक्षणमा जोड दिँदै सकियो मिडिया कार्यशाला

चितवन । वन र वन्यजन्तुको संरक्षण प्रभावकारी बनाउन जोड दिँदै सौराहामा दुईदिने मिडिया कार्यशाला सम्पन्न भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधिता संरक्षण केन्द्र सौराहाको आयोजनामा हिजो बुधबारदेखि शुरु भएको कार्यशाला गोष्ठी आज बिहीबार सकिएको हो ।
संरक्षणको लागि संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने भएकोले स्थानीय पत्रकारहरुलाई केन्द्रित गरेर कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा चितवनका २४ जना पत्रकारको सहभागिता रहेको थियो  ।
चितवन राष्ट्रिय निकुञ्ज र नेपाल पत्रकार महासंघ चितवनको सहकार्य रहेको  कार्यशालामा  बोल्दै राष्ट्रिय प्रकृति संरक्षण कोष केन्द्रीय कार्यालयकी कार्यक्रम निर्देशक सरिता ज्ञवालीले संरक्षण निकुञ्जको मात्रै दायित्व नभएको भन्दै संरक्षणमा सबैको सहभागिता हुनुपर्ने बताउनु भयो । उहांँले संरक्षणका समाचार संचारमाध्यममा कममात्रै आउने गरेकोले यस कार्यशालाले पत्रकारका कलम चलाउन सहज हुने बताउनु भयो ।
कार्यशालाका प्रमुख अतिथि एवं प्रशिक्षक डा. सुरेश आचार्यले संरक्षणका समाचारलाई मुख्य विषयवस्तु बनाएर कलम चलाउनु पर्ने बताउनु भयो । उहांँले यस कार्याशाला गोष्ठीले संरक्षणका सुक्ष्म बिषयवस्तु समेत उठान गर्दै समाजमा जनचेतना जगाउन सकिने बताउनु भयो ।  
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार खड्काले जनतालाई संरक्षणमा सुसूचित गराउन मिडियाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै कार्यशालाले थप सहयोग पुग्ने बताउनु भयो । पछिल्लो समय समुदाय स्वःस्फूर्तरुपमा संरक्षणमा लागेको देख्दा थप उत्साह मिलेको उहाँले बताउनु भयो । वन र वन्यजन्तुको क्षेत्रमा अहिलेसम्मको उपलब्धिलाई रक्षा गर्दै संरक्षण कार्य अझै चुस्त बनाउन सबै क्षेत्रको सहकार्यको खाँचो रहेको संरक्षणकर्मीहरुले बताएका छन् ।
कार्याशालाको पहिलो दिन निकुञ्ज तथा वन्यजन्तु विभागका सहसचिव डा. महेश्वर ढकालले जैविक विविधता संरक्षणमा पत्रकारको भूमिका विषयक प्रस्तुति दिनु भएको थियो । कार्यशालामा निकुञ्जको पूर्वी सेक्टरका सहायक वन अधिकृत अभिनय पाठक, कोषका सौराहा केन्द्र प्रमुख रामकुमार अर्याल लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस