भ्रमणबाट भारतसँगको सम्बन्ध थप प्रगाढ हुने राष्ट्रपतिको विश्वास

विहीबार, २२ चैत्र २०७४, २० : ११
भ्रमणबाट भारतसँगको सम्बन्ध थप प्रगाढ हुने राष्ट्रपतिको विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि हुने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

आफ्नो भारतभ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउन आज साँझ शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन भ्रमण फलदायी हुने बताउनुभएको हो ।

राष्ट्रपतिले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुईदेशबीचको सदियौँदेखिको सम्बन्धलाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीको सहभागिता थियो । प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस