प्रतिशोधी भावना, अहंकारी सोच र शैली भएका विरोधीहरूबाट गणतन्त्र माथि निरन्तर प्रहार : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, ०९ : २७
प्रतिशोधी भावना, अहंकारी सोच र शैली भएका विरोधीहरूबाट गणतन्त्र माथि निरन्तर प्रहार : प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिशोधी भावना, अहंकारी सोच र शैली भएका विरोधीहरूबाट गणतन्त्र र यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।  १४ औं गणतन्त्र दिवसको असरमा शुभकामना सन्देश जारी गर्दै नेता प्रचण्डले लोकतन्त्रवादी शक्तिहरूबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य अहिलेको आवश्यकता भएको बताएका छन् । 

उनले भनेका छन्–‘नेपाली जनताको ठूलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ । प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन ।

पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ । नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ ।’

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्न आग्रह गर्दै उनले आफू र आफ्नो समाजलाई सुरक्षित राख्न अपिल समेत गरेका छन् । ‘

पछिल्लो समयमा फैलिएको यस भाइरसको दोस्रो लहरले नेपालमा धेरै व्यक्तिको ज्यान गएको छ । स्वदेशमै उपलब्ध साधनस्रोतको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परिरहेको छ । कतै अस्पतालमा विद्युत आपूर्ति बन्द हुँदा संक्रमितले ज्यान गुमाइरहेका छन् भने कतै अस्पतालभित्र स्वास्थ्यकर्मी र चिकित्सकमाथि सांघातिक आक्रमण हुँदा उपचार नपाई नागरिकको ज्यान गइरहेको छ ।

यसप्रकारका घटनाको निन्दा र भर्त्सना गर्दै अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि हाम्रो पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’– उनले भनेका छन् । 
 

प्रतिक्रिया दिनुहोस