प्रतिकूलावस्थामा काम गर्नसक्ने ढकालबाट प्रेरणा मिल्नसक्छः प्रधानमन्त्री ओली

विहीबार, २२ चैत्र २०७४, १८ : २७
प्रतिकूलावस्थामा काम गर्नसक्ने ढकालबाट प्रेरणा मिल्नसक्छः प्रधानमन्त्री ओली

काठमाडौँ । नेकपा(एमाले)का युवा नेता दिवङ्गत रामनाथ ढकालको तेस्रो वार्षिकोत्सवका अवसरमा आज ‘कमरेड रामनाथ ढकाल स्मृति ग्रन्थ’ सार्वजनिक गरिएको छ ।

रुपन्देही–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा सो स्मृति ग्रन्थको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गर्दै ढकाल निर्भीक, निष्कपट र प्रतिकूल अवस्थामा काम गर्न सक्ने योद्धा भएको स्मरण गर्नुभयो । “उहाँ पार्टीलाई बलियो बनाउन, देशमा सकारात्मक तरिकाले परिवर्तन गर्न ल्याउन र गतिशील ढंगले प्रतिकूल अवस्थामा पनि काम गर्न सक्ने हुनुहुन्थ्यो”, उहाँले थप्नुभयो ।

एमाले अध्यक्ष ओलीले अप्ठ्यारो परिस्थितिमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा उहाँको स्मृति ग्रन्थको अध्ययनबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पोखरामा जेलमा बस्दा २०३९÷०४० सालमा नेता ढकालसँग मेरो भेट भएको थियो, विद्यार्थी आन्दोलन र युवा आन्दोलनकर्मी, जनताका कुशल जनप्रतिनिधि र देशको विकास गर्ने योद्धाको रुपमा मैले उहाँलाई देखेको थिएँ ।” नसोचेको उमेरमा नेता ढकालको अचानक स्वास्थ्यमा गम्भीर समस्या देखा परी निधन हुँदा राष्ट्रले देशभक्त प्रतिभा गुमाउनु परेकामा पार्टीमा अपूरणीय क्षति भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

पार्टीका उपमहासचिव विष्णुप्रसाद पौडेलले नेता ढकाल प्रतिकूलतालाई पनि अनूकलतामा बदलेर काम गर्न सक्ने र राष्ट्रनिम्ति केही गर्नुपर्छ भन्ने सिद्धान्त भएको व्यतित्व भएको बताउनुभयो ।
अनेरास्ववियूका अध्यक्ष रहनुभएका ढकाल २०५१ सालको निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी हुनुभएको थियो । संविधानसभाको निर्वाचन २०६४ मा रुपन्देही–५ बाट विजयी भएर उहाँले राज्य व्यवस्था समितिको सभापतिका रुपमा पनि काम गर्नुभएको थियो । गुल्मीको खड्गकोटमा जन्मी पार्टीका पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इञ्चार्ज रहनुभएका ढकालको २०७२ साल चैत २२ गते काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा ५४ वर्षका उमेरमा निधन भएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस