पुर्वी चितवनको लामिछाने पोल्ट्री फर्ममा बर्ड फ्लु संक्रमणको आशंका

विहीबार, २२ चैत्र २०७४, १७ : २७
पुर्वी चितवनको लामिछाने पोल्ट्री फर्ममा बर्ड फ्लु संक्रमणको आशंका

चितवन। चितवनको रत्ननगर–१५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेका छन् । लामिछाने पोल्ट्री फर्मको ४ वटा खोरका कुखुराहरु अचानक मर्न थालेपछि आफ्नो कुखुरामा बर्ड फ्लु लागेको हुनसक्ने सो फर्मका सञ्चालक अमृत लामिछानेले बताए ।

सो फर्म द्रोण प्रसाद लामिछानेको नाममा दर्ता भएपनि फर्मको सबै कारोबार उनका कान्छा भाइ अमृत लामिछानेले हेर्दै आएका छन् । विगत ८ वर्षदेखि कुखुरा पाल्दै आएका लामिछानेको फर्ममा यति ठूलो मात्रामा लेयर्स कुखुरा मरेको थाहा पाई बिहिबार दिउसो १ बजे जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेल र पशु चिकित्सक डा. विकाश श्रेष्ठ सोही फर्ममा पुगेका थिए ।

कुखुराको खोरको अवलोकनपछि प्रमुख खरेलले छोटो समयमा यति धेरै मात्रामा कुखुरा मर्नुले बर्ड फ्लुको आशंका भएपनि ल्याब परीक्षणको रिपोर्ट नआई भन्न नसकिने बताए । त्यस्तै पशु चिकित्सक डा. विकाश श्रेष्ठले पनि आशंका भएको छ तर रिपोर्ट आएपछि यथार्थ भन्न सकिने उनको भनाइ थियो ।

कसरी शुरु भयो रोग ?
गत चैत्र १५ गते बेलुका हावाहुरी आएपछि साझ ३ वटा कुखुरा मरेको सञ्चालक अमृत लामिछानेले बताए । १६ गते बिहान उठेर खोरमा जाँदा १४ वटा कुखुरा मरेको देखेपछि उनले काम विशेषले काठमाडौँ गएका दाइ द्रोण लामिछानेलाई फोन गरे । दाइको सल्लाह अनुसार उनले तत्काल कुखुराको परीक्षणको लागि भरतपुर पुगे । १६ गतेको पशु सेवा कार्यालयको रिपोर्टमा ‘एआइभी पोजिटिभ’ रिपोर्ट देखिएको थियो । सो रिपोर्ट कुनै रोगको लक्षण हो भन्ने थाहा पाएपछि थप परीक्षणको लागि काठमाडौँ पठाउनुपर्ने थियो ।

उनीहरुले पठाइदिएनन्, लामिछानेले दुःखेसो गरे । ‘मैले पटक पटक काठमाडौँको रिपोर्ट नआएको गुनासो गरेपनि सुनुवाई भएन । त्यसको लगत्तै मैले पुनः चैत्र २० गते भरतपुरमा नै कुखुरा परीक्षणको लागि नमुना लिएर गएको थिए’, उनले भने । त्यतिखेर खोरमा करिव १ हजार ५ सय कुखुरा मरिसकेको लामिछानेले बताए । त्यस दिनको रिपोर्टमा पनि पहिलाको जस्तै पोजिटिभ रिपोर्ट आएपछि बल्ल परीक्षणको लागि जिल्लाबाट नमुना काठमाडौँ पठाइएको उनले बताए ।

पटक पटक हामीले जिल्ला पशु सेवा कार्यायलमा निरीक्षणको लागि अनुरोध गर्दा पनि यसतर्फ सुनुवाइ नभएको उनले गुनासो पोखे । बिहीबार उहाँहरु निरीक्षणमा आउँदा ढिलो भइसकेको थियो । करिब करिब सबै कुखुराहरु सकिने अवस्था थियो ।

कुखुरा फर्म सञ्चालकलाई भएको क्षति
लोमेन जातको लेयर्स कुखुराले अण्डा दिन थालेको ३ महिना भएको थियो । ५ हजार १ सय कुखुरा मध्ये ९९ प्रतिशत कुखुराबाट अण्डा उत्पादन भईरहेकोमा अचानक रोग लागेपछि अहिले फर्म सञ्चालकलाई कुखुरा गाड्ने ठाउँ समेत अभाव भएको छ ।

उनको ५ सय अट्ने २ वटा खोरका सबै कुखुरा मरेर खोर खाली भएको छ । २ हजार अट्ने अर्को ठूलो खोरमा करिब ३ सय जिउँदा कुखुरा देख्न सकिन्छ भने सो खोरमा मरेका कुखुराहरु थुप्रा थुप्रा लगाई राखिएको छ । अर्को २ हजार १ सय कुखुरा हालेको खोरमा १ हजार १ सय कुखुरा जिउँदा देखिन्छन् भने मरेका कुखुराहरु थुप्रो थुप्रो र ठाउँ ठाउँमा खोरभित्रै ढलेको देखिन्छ भने केही ढल्दै गरेको पनि देखिन्छ ।

सञ्चालक लामिछानेका अनुसार अब करिव १ हजार ४ सय कुखुरा जिउँदा भएपनि २ दिनभित्रमा कुखुरा सबै सकिने अवस्थामा छ ।

बर्ड फ्लुको आशंकामा परिवारजनले घर छाडे
१ हप्तादेखि कुखुरा मर्न थालेपछि लामिछाने परिवारका ५ जना बालबच्चा र बुबाआमा रत्ननगरको टाँडी क्षेत्रमा गएर बस्न थालेका छन् । उनीहरु विगत ४ दिनदेखि माधवपुरको घर छाडेर गएका हुन् । रोगको आशंकाले उनीहरु घरभन्दा करिव ६ किलोमिटर तल रहेको जेठो छोराको डेरामा गएर बस्न थालेका छन् । विशेषगरी केटाकेटी र वृद्धवृद्धालाई भाइरसले चाडै आक्रमण गर्न सक्ने आशंकाले उनीहरुले घर छाडेको बताइएको छ ।

मरेका कुखुरा गाँड्न भ्याईनभ्याई
फर्मका सञ्चालक अमृत लामिछानेले मरेका कुखुरा गाँड्न थालेको करिव १ हप्ता हुनै लाग्यो । विगत ३ दिनदेखि धेरै मात्रामा कुखुरा मर्न थालेपछि उनले बिहानदेखि बेलुकासम्म खेताला समेत लगाई कुखुरा गाँडेका छन् ।

उनले शुरुमा खाल्डो खनी ४ सय कुखुरा गाँडेका थिए भने १८ गते पुनः २ वटा खाल्डो खनी करिव ७–७ सय कुखुरा गाँडेका थिए । त्यसपछि कुखुरा झन् मर्ने क्रम बढेपछि २१ गते ठूलो खाडल खनी १ हजार ३ सय कुखुरा एकैठाउँमा पुरेका थिए ।

उनले बिहीबार पनि आफु, श्रीमती र खाडल खन्ने खेताला समेत लगाई गहिरो इनार जस्तो खाडल खनेका छन् । हालसम्म उनले ५ वटा खाडल खनेर कुखुरा गाडेको देखाएका थिए । सो कुखुरा पुरेको ठाउँ वरपर दुर्गन्ध समेत फैलिएको छ भने अब उनको बारीमा थप कुखुरा गाँड्ने ठाउँ समेत अभाव देखिएको छ ।

मरेका कुखुराको ल्याव परीक्षण कहाँ हुँदैछ त ?
२ पटकसम्म १६ गते र २० गते भरतपुर स्थित जिल्ला पशु सेवा कार्यालयमा परीक्षण गरिएको रिपोर्टबाट कुखुरामा ‘एआइभी पोजिटिभ’ देखिएको थियो । सो रोग देखिएपछि काठमाडौँ पठाइएको नमुना छिटो छिटो भन्दा परीक्षण गर्न पटक पटक काठमाडौँस्थित कार्यालयका प्रमुख डिकरदेव भट्टलाई पटक पटक फोन गरेको सञ्चालक द्रोण प्रसाद लामिछानेले बताए । ‘आज (बिहीबार) पनि धेरैपटक मैले फोन गरे, ३ बजे दिउँसो आउने भनेको रिपोर्ट आएको छैन । १ हप्ता भयो खोरको कुखुरा मरेर सकिइ सक्यो’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस