दयाराम परियार मानवअधिकार पुरस्कारको राशि रु एक लाख

विहीबार, २२ चैत्र २०७४, १५ : ३५
दयाराम परियार मानवअधिकार पुरस्कारको राशि रु एक लाख

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मानवअधिकारकर्मी स्व दयाराम परियारको स्मृतिमा स्थापना गरेको ‘दयाराम परियार मानवअधिकार पुरस्कार’ को राशि रु एक लाख कायम गरेको छ ।

अधिकारकर्मी परियारको नाममा स्थापना गरिएको ‘दयाराम परियार स्मृति सम्मान’ लाई आयोगले नयाँ कार्यविधि पारित गरेर पुरस्कारमा रुपान्तरण गरिएको आयुक्त गोविन्द पौडेललले बताउनुभयो ।

हरेक वर्ष प्रदान गरिने पुरस्कार राष्ट्रिय मानवअधिकार आयोगको स्थापना दिवस जेठ १३ गते प्रदान गरिने छ । राष्ट्रिय मानवअधिकार आयोगमा कार्यरत मानवअधिकार रक्षक स्व परियारको २०६२ चैत ११ गते पेशागत क्रियाशीलताकै अवस्थामा जनकपुरको जनकचोकमा प्रहरीको गोली लागेर उपचारकै क्रममा चैत १५ गते निधन भएको थियो ।

आफ्ना एक कर्मठ कर्मचारी गुमाएकोमा आयोगले पाँच वर्षदेखि दयारामको स्मृतिमा स्थापित सम्मान हरेक वर्ष दुईजना विशिष्ठ अधिकारकर्मीलाई प्रदान गर्दै आएको छ ।

सो सम्मान यसअघि अधिकारकर्मी दुर्गा घिमिरे, चरिमाया तामाङ, टेकनाथ वराल, चन्द्र किशोर झा, डा शिवमाया तुम्वाहाङफे, बलदेव राम, मातृका देवकोटा, श्यामसुन्दर शशी, नजबुल खान र विद्या राजभण्डारीलाई प्रदान गरिएको थियो ।

मानवअधिकारकर्मी परियारको मृत्युको अनुसन्धान गर्न सरकारले आयोग गठन गरी कारबाहीका लागि सिफारिस पनि गरेको छ । तर कारबाही भने भएको छैन । सर्वोच्च अदालतले समेत दोषीलाई कारबाही गर्न आदेश दिइसकेको छ । जनआन्दोलन २०६२÷०६३ मा सहादत प्राप्त अधिकारकर्मी दयाराम परियारलाई मानवअधिकार क्षेत्रको शहीदका रुपमा सम्मान गरिँदै आइएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस